images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • ट्राफिक सचेतनामा NKBEA को सक्रियता :...

ट्राफिक सचेतनामा NKBEA को सक्रियता : सुरक्षित सडक निर्माणमा सबैको साझा जिम्मेवारी

ट्राफिक सचेतनामा NKBEA को सक्रियता : सुरक्षित सडक निर्माणमा सबैको साझा जिम्मेवारी

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं, १० असार । नेपाल–कोरिया बिजनेस इन्टरप्रेनर्स एसोसिएसन (NKBEA) ले सञ्चालन गरेको ट्राफिक सचेतना अभियानअन्तर्गत तयार गरिएको प्रतिवेदन बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रस्तुत गरिएको छ।

    images
    images

    कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्ले, प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाह, सञ्चारकर्मी तथा संघका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै NKBEA का अध्यक्ष प्रेम गुरुङले ट्राफिक सचेतना अभियानको प्रतिवेदन प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले सुरक्षित सडक, सभ्य यातायात संस्कार र जिम्मेवार नागरिकताको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

    images
    images

    अभियानअन्तर्गत सडक प्रयोगकर्ता, चालक, सहचालक, पैदलयात्री तथा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना, जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउनेलगायत सडक सुरक्षासम्बन्धी विषयमा व्यापक जनचेतना फैलाइएको उहाँले बताउनुभयो।

    अध्यक्ष गुरुङका अनुसार अभियान अवधिभर विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सार्वजनिक सन्देश प्रवाह तथा स्वयंसेवक परिचालन गरिएका थिए। ती कार्यक्रममार्फत नागरिकमा ट्राफिक नियमप्रति सकारात्मक सोच र जिम्मेवारीबोध बढेको अनुभव गरिएको उहाँको भनाइ थियो।

    उहाँले ट्राफिक व्यवस्थापन केवल ट्राफिक प्रहरीको दायित्व मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले नियमको पालना गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा बोल्दै उहाँले नेपाल र कोरियाबीचको सहकार्यलाई व्यवसायिक क्षेत्रमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समेत सुदृढ बनाउने लक्ष्य रहेको बताउनुभयो। संघले उद्यमशीलता, सीप विकास तथा सामाजिक अभियानहरूमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको उहाँले जानकारी दिनुभयो।

    अभियानलाई सफल बनाउन सहयोग गर्ने ट्राफिक प्रहरी, स्वयंसेवक, सञ्चारकर्मी, साझेदार संस्था तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष गुरुङले सडक सुरक्षामा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा सहभागीहरूले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, नागरिक सचेतना अभिवृद्धि तथा सुरक्षित सडक संस्कृतिको विकासका लागि यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

    “सडक जीवन हो, खेल मैदान होइन” र “ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा र सभ्य समाज निर्माण गरौं” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend