images

२०८३ आश्विन १७ गते

images
images
images

अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य

अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • वासिङ्टन डिसी । पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबिच सम्झौता भएसँगै अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्समार्फत पुष्टि गरेको छ । यद्यपि, केही अमेरिकी सैन्य जहाजहरू भने अझै पनि त्यस क्षेत्र आसपास रहने कमान्डले जनाएको छ ।नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले ओहोदा सम्हालेयता पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन् । उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरेको बताएका छन् । 

    images
    images

    गत फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणमा आफ्ना पिता एवं तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि मोज्ताबाले कार्यभार सम्हालेका थिए, तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाध्य भएर सम्झौताका लागि सबै उपाय प्रयोग गरेको टिप्पणी गर्दै भविष्यमा हुने वार्ताको अर्थ शत्रुको अडानलाई स्वीकार गर्नु नरहेको स्पष्ट पारेका छन् ।यता अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनीको भनाइमा सीधा टिप्पणी नगरे पनि लेबनानको हिजबुल्लाह र इजरायलसहितका सबै मोर्चामा पूर्ण युद्धविराम लागू हुने अपेक्षा गरेका छन् । ट्रम्पले पश्चिम एसियाका देशहरूले वार्ता प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

    इरान र अमेरिकाबिच भएको यस सम्झौतामा मुख्य १४ बुँदा समेटिएका छन् । यस अन्तर्गत स्ट्रेट अफ होर्मुजको मार्ग पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने उल्लेख छ । तर, यस कोषमा अमेरिकाले रकम जम्मा गर्नुपर्ने बाध्यता भने छैन । दुवै पक्ष आगामी बढीमा ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्नुपर्नेछ र सहमति अनुसार यो अवधि थप गर्न सकिने व्यवस्था छ ।यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा हुने तय भए पनि मध्यस्थकर्ता पाकिस्तानका अनुसार डिजिटल माध्यमबाट पहिले नै हस्ताक्षर भइसकेकाले औपचारिक समारोह रद्द भएको छ । यद्यपि, प्राविधिक र थप वार्ताका लागि दुवै देशका प्रतिनिधि स्विट्जरल्यान्डमै भेट्ने तय भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता लागू भइसकेको र ६० दिने वार्ताको अवधि सुरु भएको जानकारी दिएका छन् ।

    images
    images

    यसैबिच, ट्रम्पको यो कदमको अमेरिकाभित्रै, विशेष गरी रिपब्लिकन सांसदहरूबाट तीव्र आलोचना सुरु भएको छ । रिपब्लिकन सिनेटर बिल क्यासिडीले यो सम्झौतालाई दशकौँकै सबैभन्दा ठुलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन् । उनले इरानको आणविक महत्त्वाकाङ्क्षालाई रोक्न नसकिएको र धम्कीको राजनीति सफल हुन्छ भन्ने सन्देश इरानले पाएको दाबी गरेका छन् ।आलोचनाको प्रतिवाद गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले इरानले सम्झौताका सर्तहरू पूरा नगरेसम्म कुनै पनि रकम वा प्रतिबन्धहरूमा छुट नपाउने स्पष्ट पारेका छन् । सम्झौता अन्तर्गत इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार नष्ट गर्नुपर्ने र क्षेत्रीय लडाकु समूहहरूलाई आर्थिक सहयोग बन्द गर्नुपर्ने सर्त रहेको उनले बताए ।भान्सले यस सम्झौताको विरोध गर्ने इजरायली मन्त्रीहरूको पनि कडा आलोचना गरेका छन् । उनले इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिर र वित्त मन्त्री बेजालेल स्मोट्रिचलाई लक्षित गर्दै उनीहरूसँग यो समस्याको अर्को के विकल्प छ भनी प्रश्न गरेका छन् । 

    भान्सले भने, ‘तपाईँ नौ लाख जनसङ्ख्या भएको देश हुनुहुन्छ । हरेक राष्ट्रिय सुरक्षा समस्याको समाधान केवल मान्छे मारेर मात्र सम्भव हुँदैन ।’ उनले इजरायललाई आफ्नो एकमात्र शक्तिशाली मित्र राष्ट्रमाथि प्रहार नगर्न र वास्तविकता बुझ्न आग्रह गर्दै बेरुतमा सर्वसाधारण मारिने गरी भएका आक्रमणहरू स्वीकार्य नहुने चेतावनी दिएका छन् ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धका क्रममा अमेरिकाले इजरायललाई दिएको दह्रो साथको प्रशंसा गर्दै सम्बन्धको महत्त्वमा जोड दिएका छन् । तर, इजरायल र हिजबुल्लाह दुवैले यो सम्झौताको भावना विपरीत एकअर्कामाथि आक्रमण जारी राखेका छन् । इजरायलले हिजबुल्लाहसँगको आफ्नो लडाइँ इरानसँगको युद्धभन्दा फरक भएको तर्क गरेको छ भने हिजबुल्लाहले पनि यो सम्झौताका सर्तहरूलाई अस्वीकार गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend