एजेन्सी। चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यांकन प्राप्त गरेको छ। यससँगै कम्पनी विश्व एआई बजारमा तीव्र गतिमा उदीयमान शक्तिका रूपमा स्थापित भएको देखिएको छ।हालै सम्पन्न फन्डिङ राउन्डमा लगानीकर्ताहरूले कम्पनीको मूल्याङ्कन ५० अर्ब डलरभन्दा माथि पुर्याएको बताइएको छ। यसअघि सन् २०२५ मा कम लागतमा तयार गरिएको च्याटबोट सार्वजनिक गर्दै डिपसिकले विश्व बजारमा ध्यान आकर्षित गरेको थियो, जसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको दाबी गरिएको छ।
कम्पनीले यस वर्ष अप्रिलमा नयाँ एआई मोडेल सार्वजनिक गरेको थियो। वाल स्ट्रिट जर्नल र द इन्फर्मेसनका अनुसार पछिल्लो फन्डिङ राउन्डमा कम्पनीले ५० अर्ब युआन (करिब ७ अर्ब ४० करोड अमेरिकी डलर) भन्दा बढी पूँजी जुटाएको छ। तर कम्पनीले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।एआई उद्योगमा अत्याधुनिक मोडेल विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ। विशाल कम्प्युटिङ पूर्वाधारका लागि अर्बौं डलर लगानी आवश्यक पर्ने भए पनि प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेको विश्लेषण गरिएको छ।
यसैबीच, अमेरिकी नियामक निकायहरूले डिपसिकको प्रविधि चीनकै सबैभन्दा उन्नतमध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब आठ महिना पछाडि रहेको मूल्याङ्कन गरेको बताइएको छ।विश्व एआई प्रतिस्पर्धामा अमेरिकी कम्पनीहरू अझै अग्रस्थानमा देखिन्छन्। एन्थ्रोपिकको मूल्याङ्कन हालैको फन्डिङपछि करिब ६५ अर्ब डलर पुगेको छ भने च्याटजीपीटी निर्माता ओपनएआईको मूल्याङ्कन करिब ८५२ अर्ब डलर रहेको उल्लेख छ। यी कम्पनीहरूले हालै सार्वजनिक सूचीकृत हुने तयारीसमेत थालेका छन्, जसले निजी एआई लगानी बजार विस्तारको सीमामा पुग्न थालेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।रिपोर्टअनुसार डिपसिकका संस्थापक लियाङ वेनफेङले व्यक्तिगत रूपमा करिब २० अर्ब युआन लगानी गरेका छन्। उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने व्यवस्था गरेका छन्।यसैगरी चीनको सरकारी समर्थन प्राप्त नेसनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले करिब एक अर्ब युआन लगानी गरेको छ। टेनसेन्ट, जेडी डटकम र नेटइजजस्ता ठूला चिनियाँ प्रविधि कम्पनीहरू पनि लगानीकर्ताका रूपमा सहभागी रहेका बताइएको छ। ती कम्पनीहरूले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।




.gif)





