हो ची मिन्ह । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ । पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन् ।गएको हप्ता ताय निन्ह प्रान्त र हो ची मिन्ह सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले ४०० भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब ८० मृत बिरालो फेला पारेको थियो । अर्को एक स्थानबाट थप २१ बिरालो पनि बरामद गरिएको थियो ।
यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । हो ची मिन्ह सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ आपराधिक गिरोहका रूपमा सक्रिय थियो । भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानुनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ । हो ची मिन्ह सहरमा घर पालुवा जनावरको चोरी बढ्दै गएपछि प्रहरीले सोको अनुसन्धान गर्ने क्रममा यो गिरोह पत्ता लगाएको हो ।अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले पछिल्ला तीन वर्षदेखि दक्षिणी भियतनामका विभिन्न स्थानबाट बिरालो चोर्ने र सङ्कलन गर्ने गरेको स्वीकार गरेको बताइएको छ । उद्धार गरिएका बिरालामध्ये करिब ४० वटा आफ्ना मालिकसँग पुनर्मिलन गराइसकिएको छ । तर उद्धारअघि लामो समयसम्म खराब अवस्थामा राखिएकाले केही बिरालो पछि मरेको पनि जनाइएको छ ।
पशु अधिकारकर्मीहरूका अनुसार भियतनाममा हरेक वर्ष करिब ५० लाख कुकुर र १० लाख बिरालो मासुका लागि समातिने, चोरी हुने वा तस्करी गरिने गर्छन् । तर, पछिल्ला वर्षहरूमा विशेषगरी युवा पुस्ता र घर पालुवा जनावर पाल्ने मानिसहरू कुकुर तथा बिरालोको मासु व्यापार विरुद्धमा रहनेको संख्या बढ्दै गएको जनमत सर्वेक्षणहरूले देखाएका छन् ।




.gif)





