अर्घाखाँची, जेठ २५ गते । वन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन अर्घाखाँची डिभिजन वन कार्यालयले जिल्लाभर रहेका जीर्ण तथा प्रयोगविहीन पोखरीहरूको खोजी तथा पुनः सञ्चालन अभियान सुरु गरेको छ।गर्मी बढेसँगै वन डढेलोका घटना तीव्र रूपमा बढ्न थालेपछि दीर्घकालीन समाधानका रूपमा पानी सङ्कलन संरचनाको संरक्षण र उपयोगमा कार्यालयले विशेष ध्यान दिएको हो। जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैरसरकारी निकायबाट निर्माण गरिएका धेरै पोखरी हाल मर्मत अभावका कारण प्रयोगविहीन अवस्थामा पुगेका छन्।कतिपय पोखरीमा पानी नै जम्न छाडेको छ भने केही संरचना पूर्ण रूपमा जीर्ण बनेका छन्, डिभिजन वन कार्यालय प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो। यस्ता पोखरी पुनः सञ्चालनमा ल्याउन सके डढेलो नियन्त्रणमा ठुलो सहयोग पुग्ने विश्वास वन कार्यालयको छ।
डिभिजन वन कार्यालयका अधिकृत केसर खड्काका अनुसार वर्षायाममा पानी सङ्कलन गरी आवश्यक पर्दा डढेलो नियन्त्रणमा प्रयोग गर्ने योजना अघि सारिएको छ।“वन क्षेत्रमा पानीको स्रोत अभाव हुँदा डढेलो नियन्त्रण गर्न कठिन हुन्छ। पोखरी सञ्चालनमा आए स्थानीयस्तरमै पानीको उपलब्धता सुनिश्चित हुने,” खड्काले बताउनुभयो।वन कार्यालयले जिल्लावासीलाई आफ्नो आसपासका वन क्षेत्रमा रहेका जीर्ण तथा प्रयोगविहीन पोखरीहरूको जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। स्थानीयको सहयोगमा तथ्याङ्क सङ्कलन गरी प्राथमिकताका आधारमा मर्मत तथा संरक्षण कार्य अघि बढाइने जनाइएको छ।
कार्यालयका अनुसार यो अभियान डढेलो नियन्त्रणमा मात्र सीमित नभई जैविक विविधता संरक्षण, वन्यजन्तुको पानी आवश्यकता पूर्ति तथा वन वातावरण सन्तुलन कायम गर्न समेत उपयोगी हुनेछ। वर्षायाममा पानी सङ्कलन हुँदा वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध हुने र साना जीवजन्तुको बासस्थान संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने वन कार्यालयले जनाएको छ। साथै, डढेलो देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न कार्यालयले सबै नागरिकसँग अनुरोध गरेको छ।हरेक वर्ष वन डढेलोका कारण ठुलो जनधन तथा प्राकृतिक क्षति हुने भएकाले यस्ता संरचनाको संरक्षण र व्यवस्थापनले दीर्घकालीन रूपमा वातावरण संरक्षण तथा प्राकृतिक स्रोत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कार्यालयको छ।




.gif)





