काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारीको सेवा सुविधा र सेवाग्राहीमैत्री बैंकिङ प्रणाली सुधार गर्न नयाँ निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा खटाउँदा प्रचलित कानुन अनुसार अतिरिक्त परिश्रमिक अर्थात् ओभरटाइम भत्ता अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो। साथै कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने स्पष्ट गरिएको छ।
निर्देशन अनुसार अब बैंकहरूले कर्मचारीको सहमतिपछि मात्रै अतिरिक्त समय काम गराउन पाउनेछन्। राष्ट्र बैंकले श्रम अधिकारको सम्मान गर्दै कर्मचारीमैत्री कार्य वातावरण सुनिश्चित गर्न जोड दिएको छ।
यससँगै बैंकिङ सेवा थप समावेशी र पहुँचयोग्य बनाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि बैंक तथा वित्तीय संस्थाले विशेष काउण्टर सञ्चालन गर्नुपर्नेछ।
राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखालाई अपाङ्गमैत्री बनाउन पनि निर्देशन दिएको छ। शाखामा ह्विलचेयर पहुँच, सहज सेवा संरचना तथा आवश्यक सहायक सुविधा अनिवार्य गर्न भनिएको छ।
त्यस्तै ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो एटिएमको विवरण सम्बन्धित बैंकको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको यो कदमलाई बैंकिङ सेवा थप मानवमैत्री, समावेशी र आधुनिक बनाउने प्रयासका रूपमा हेरिएको छ।




.gif)





