मेलबर्न, अष्ट्रेलिया । विश्वव्यापी पाक क्षेत्रमा नेपाली पहिचान स्थापित गर्ने अभियानसँगै नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङः खाद्य शब्दकोश’ का लेखक शिव न्यौपाने ले प्रस्तुत गर्नुभएको यो कथा संघर्ष, मेहनत र आत्मविश्वासको प्रेरणादायी उदाहरण हो—शेफ कृष्ण बहादुर जी.सी. को जीवन यात्रा।
प्युठान जिल्लाको कोचिबाङ–बाराबिसेमा जन्मिएका कृष्ण बहादुर जी.सी.का बुबा विष्णु बहादुर जी.सी.र आमा मीना देवी जी.सी. हुन्। पछि उनको परिवार दाङ उपमहानगरपालिका–२, बनझाडीमा बसाइँ सरेको थियो। सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल अभाव र संघर्षबीच बित्यो।
१६ वर्षअघि उनी पनि धेरै नेपाली युवाजस्तै भविष्यप्रति अन्योलमा थिए। गरिबीका कारण चप्पल समेत नहुँदा खुट्टामा बिजाइँ लाग्ने दिनहरूले उनलाई सधैं एउटै प्रश्नले सताइरहन्थ्यो “पैसा कसरी कमाउने”
पढाइ कम भएकाले राम्रो रोजगारीको अवसर सीमित थियो। त्यही समयमा जेठा दाजुले भारतमा भाँडा माझ्ने कामको अवसर जुटाइदिए। त्यहीँबाट उनको पाककला यात्रा सुरु भयो।
भाँडा माझ्दै–माझ्दै उनले खाना पकाउने सीप सिक्न थाले। करिब तीन वर्षसम्म घर नफर्की निरन्तर मेहनत गरे। आमाको चिठी प्रत्येक ६ महिनामा आउँथ्यो, जसमा एउटै वाक्य दोहोरिन्थ्यो “तँले आमालाई बिर्सिस्।” त्यो शब्दले उनलाई भावुक बनाउँथ्यो, तर त्यही पीडाले भविष्य निर्माणका लागि थप प्रेरणा पनि दियो।
“केही पाउनका लागि केही त्याग गर्नुपर्छ” भन्ने सोचले उनलाई निरन्तर अघि बढायो। १६ वर्षको कठिन मेहनतपछि उनी आज आफू र परिवारलाई सम्मानजनक जीवन दिन सक्ने अवस्थामा पुगेका छन्।
उनको सन्देश स्पष्ट छ, “अलग अलग बाटो नछान्नुहोस्, एउटै लक्ष्य रोज्नुहोस् र निरन्तर मेहनत गर्नुहोस्।”
संघर्षका अनुभव र सिकेका सीपहरू अन्य नेपाली युवासम्म पुर्याउने उद्देश्यले उनले सामाजिक सञ्जालमार्फत भिडियोहरू बनाउन सुरु गरे। पछि त्यही माध्यम आयआर्जनको स्रोत बन्न सक्ने थाहा पाएपछि उनले अरूलाई पनि डिजिटल प्लेटफर्म प्रयोग गर्न प्रेरित गरे।
कतिपयले उनका भिडियोहरूलाई गलत रूपमा बुझेर आलोचना गरे पनि उनी भन्छन्, “म नेपाली दाजुभाइहरूको भलाइका लागि नै सिकेका सीप र अनुभव बाँडिरहेको छु। यदि कुनै कमजोरी भएको भए म क्षमा चाहन्छु, तर मेरो उद्देश्य सधैं सकारात्मक नै छ।”
शेफ कृष्ण बहादुर जी.सी.को जीवनकथा संघर्षबाट सफलता सम्भव छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ। गरिबी, अभाव र पीडालाई प्रेरणामा रूपान्तरण गर्दै उनले देखाएका छन् सपना साना भए पनि मेहनत ठूलो हुनुपर्छ।
मेलबर्नदेखि विश्व पाक क्षेत्रमा नेपाली पहिचान स्थापित गर्ने अभियानमा उनीजस्ता संघर्षशील युवाहरूको कथा प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।




.gif)





