वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्न खोजेको अमेरिका भित्रिने सबै सामानमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) संघीय अदालतले अवैध ठहर गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीशहरूको प्यानलले २–१ को बहुमत निर्णयमार्फत ट्रम्प प्रशासनले उक्त शुल्क लागू गर्न पर्याप्त कानुनी आधार प्रस्तुत गर्न नसकेको जनाएको हो ।अदालतले सन १९७४ को व्यापार कानुनअन्तर्गत रहेको “सेक्सन १२२” प्रयोग गरेर शुल्क लागू गरिएको भए पनि त्यसका लागि आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालेको छ । उक्त कानुनले विशेष परिस्थितिमा राष्ट्रपतिलाई कंग्रेसको स्वीकृतिबिना अधिकतम १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अधिकार दिन्छ ।
यस निर्णयपछि अदालतले सम्बन्धित मुद्दाका वादीहरूबाट असुल गरिएको शुल्क संकलन रोक्न र पहिले लिइएको रकम फिर्ता गर्न आदेश दिएको छ । यद्यपि निर्णय तत्काल सबै आयातकर्तामा लागू नहुने भए पनि यसलाई ट्रम्प प्रशासनको आर्थिक नीतिमा ठुलो धक्का मानिएको छ ।यसअघि पनि अमेरिकी सर्वाेच्च अदालतको एउटा निर्णयपछि ट्रम्प प्रशासनका व्यापक भन्सार नीति कानुनी विवादमा परेका थिए । नयाँ निर्णयले भविष्यमा राष्ट्रपतिले एकतर्फी रूपमा व्यापार शुल्क लागू गर्ने अधिकारबारे थप बहस सुरु हुने संकेत दिएको छ ।




.gif)



