images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको...

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

images
images
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • जुम्ला, ३ वैशाख । जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने  गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो।

    images
    images

    उहाँका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् ।

    यहाँ उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

    images
    images

    स्याउ बगैँचामा फूल फुलेर सेताम्मे
    हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका–५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताउनुभयो । “बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत–वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ”, उहाँले भन्नुभयो । 

    शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर तीन हजार ३०० इटालियन जातको फुजी स्याउ लगाउनुभएको छ । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उहाँको भनाइ छ ।

    हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको  र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताउनुभयो । जिल्लाको एक नगरपालिकासहित सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका–१ का किसान  सरिता रावतले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend