images

२०८३ आश्विन १८ गते

images
images
images

रौता पोखरीमा पर्यटन महोत्सव

रौता पोखरीमा पर्यटन महोत्सव

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ६ मा भोलि ३ गतेसम्म प्रथम रौता त्रियुगा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको आयोजना एवं कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा गत चैत्र २९ गतेदेखि यो महोत्सव शुरु भएको थियो । रौता पर्यटन महोत्सवको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले सो महोत्सवको उद्घाटन गर्नुभएको थिया ।महोत्सवको उद्घाटन गर्दै मन्त्री पराजुलीले देशको आर्थिक विकासका लागि मात्र होइन, विपन्न समाजको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक र अन्य विकासका लागि पर्यटन उद्योगले ठूलो मद्दत गरिरहेको हुँदा हामीसँग रहेका प्राकृतिक सम्पदालाई आधार बनाएर भौतिक पूर्वाधार निर्माणदेखि विविध प्रकारका सेवा–सुविधा पर्यटकहरुलाई उपलब्ध गराउन सकेमा प्रचुर मात्रामा पर्यटक ल्याउन सकिने अवस्था रहेको बताउनुभयो ।

    images
    images

    पहिलोपटक आयोजना गरिएको रौता पर्यटन महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उत्पादन, पशुपन्छी, स्थानीय रुपमा उत्पादन गरिएका विभिन्न समानहरु, हस्तकलाका सामान आदिको प्रदर्शनीसहित ती वस्तु बिक्रीका लागि स्टलमा राखिएका छन् ।समुद्र सतहबाट १ हजार ७ सय १० मिटरको उचाइमा रहेको यस रौता पोखरीको विशेषता के हो भने, छिन्–छिन्मा मौसम परिवर्तन भैरहन्छ । केही बेरमा पानी पर्ने, केही बेरमा हावाहुरी आउने, कुहिरो लाग्ने र केही बेरमा नै घाम लाग्ने भएकोले यस ठाउँमा जाँदा बाक्लो लुगा लैजानुपर्ने हुन्छ ।जिल्लाको ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलका रुपमा चिनिएको रौता पोखरीको परिसरमा आयोजित पर्यटन मेलामा उदयपुर, खोटाङ, ओखलढुंगा, सिराहा, सप्तरी, सुनसरीलगायतका जिल्लाका व्यवसायीहरुले सहभागिता जनाएका छन् । साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङसमेत सञ्चालन गरिएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले बताउनुभयो ।

    महासचिव श्रेष्ठले प्रथम रौतामाई त्रियुगा पर्यटन महोत्सव सञ्चालन गर्नका लागि लामो समयदेखि विभिन्न निकायहरुसँग छलफल चलाएको तर केही समस्याले गर्दा बाधा भइरहेका बिताउनुभयो । पछि रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मनत्रालयले महोत्सवका लागि सहयोग गर्ने भएपछि विगतका वर्षहरुमा नयाँ वर्षका समयमा मेला लाग्दै आएको समय पारेर ५ दिने पर्यटन मेला आयोजना गर्न सफल भएको उहाँको भनाइ छ ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा धेरै हिमशृङ्खलाहरु देखिने रौता पोखरी निकै प्रसिद्ध धार्मिक स्थल भएकोले यहाँ प्रायः बाह्रै महिना भक्तजनहरु बोका, परेवा पूजा गर्न, भाकल कबोल पूरा गर्न आइरहने गरेको रौतामाई गापा वडा नं. ६ का वडाध्यक्ष पृथ्वीकुमार राईले बताउनुभयो ।

    images
    images

    किंवदन्ती अनुसार परापूर्वकालमा यस ठाउँमा भुजुङ गुरुङ नामका गुरुङ जाती भेडासहित गोठ सारेर बस्न थाले । भेडा चराउने क्रममा बिहान रौता पोखरीको वरपर भेडा छाडे । दिनभरि चौरमा चरिरहेको भेडा साँझ घर फर्कनुपर्नेमा फर्केनन् । यताउता सबैतिर खोजी गरे तर फेला पार्न सकेनन् । भेडा खोज्दाखोज्दै रात परेकोले उनी खानपिन गरेर आराम गर्न गए । सोही राति सपनीमा उनलाई रौता भगवती देवीले दर्शन दिइन् रे ! सपनीमा देवीले म रौता देवी हुँ । म बसेको वरपर फोहोर नगर्नू, सरसफाइ गरेर मेरो दैनिक पूजाआजा गर्नू, मितीले चिताएको पूरा हुन्छ अनि हराएका भेडाहरु सबै फेला पर्छन् भनेर देवी अलप भएकी रहिछिन् ।भोलिपल्ट बिहानै उठेर शुद्ध भई ती भेडी गोठालो गुरुङले सपनीमा देवीले भनेझैँ पोखरीको वरपर सरसफाइ गरे । त्यसपछि पूजाआजा गरेर देवीसँग माफी मागेपश्चात् हराएका भेडाहरु सबै चरनमा देखिएका थिए रे ! यस किंवदन्तीलाई विश्वास मानेर अहिले पनि स्थानीयले यस मन्दिरमा दैनिक सरसफाइ गरेर पूजाआजा गर्ने चलन रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend