images

२०८३ आश्विन १८ गते

images
images
images

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • भोजपुर, २६ चैतः वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।

    images
    images

    यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ । हरिया बनजङ्गलमाथि गुराँसको राताम्य रङ मिसिँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको छ । मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ (धार्मिक ग्रन्थ)सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।

    पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, वेशभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उहाँले जानकारी दिनुभयो । वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उहाँको भनाइ छ ।

    images
    images

    “गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ ।”

    गुराँस फुल्ने मौसममा प्रकृतिप्रेमी, फोटोग्राफर तथा साहसिक यात्राका पारखीहरू मुन्दुम पदमार्गतर्फ आकर्षित हुने गरेका छन् ।  यस पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ, मैयुङडाँडाजस्ता पर्यटकीय स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । टेम्केडाँडा तथा मैयुङडाँडाबाट देखिने हिमाली दृश्य, साल्पा पोखरीको धार्मिक महत्व र सिलिचुङको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।

    स्थानीय होटल तथा ‘होमस्टे’ व्यवसायी विवेक कुलुङका अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको छ । मुन्दुम पदमार्गमा पछिल्लो समय पूर्वाधार विकासमा पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण, सूचना बोर्ड स्थापनालगायत कामले पर्यटकलाई सहजता प्रदान गरेको छ । स्थानीय तह, सङ्घीय सरकार, प्रदेश सरकार तथा पदमार्गमा आधारित पर्यटन परियोजना मिलेर संयुक्त रूपमा यस क्षेत्रको प्रवद्र्धनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

    प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा मुन्दुम पदमार्ग क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । वसन्त ऋतुमा यहाँ पुग्ने जो कोही पर्यटकका लागि यो यात्रा अविस्मरणीय अनुभव बन्ने स्थानीयको भनाइ छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend