भक्तपुरमा मनाइने ऐतिहासिक बिस्केट जात्रा लाई यस वर्ष थप व्यवस्थित र सुरक्षित बनाउन कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। जात्राका क्रममा हुने सम्भावित हुलदङ्गा, ढुङ्गा हानाहान र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रशासनले सिसी क्यामेरा र ड्रोनमार्फत निगरानी गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल को नेतृत्वमा बसेको बैठकले जात्रा अवधिभर अशान्ति फैलाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ। त्यस्ता व्यक्तिलाई हिरासतमा राखेर मुद्दा चलाउने र भविष्यमा विदेश जान नपाउने गरी कालोसूचीमा राख्ने समेत चेतावनी दिइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार जात्रास्थल वरपर ३६ वटा सिसी क्यामेरा र तीनवटा ड्रोन क्यामेरा प्रयोग गरी २४सै घण्टा निगरानी गरिनेछ। प्रहरी कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्दै शंकास्पद गतिविधिमा संलग्नलाई तुरुन्त नियन्त्रणमा लिइने उनले जानकारी दिए।
यससँगै जात्रा अवधिभर मादक पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा पूर्ण रोक लगाइनेछ। खुल्लमखुल्ला मदिरा सेवन गर्ने वा अवैध कारोबारमा संलग्नलाई पनि कारबाही गरिने बताइएको छ।
शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिनेछ भने सादा पोसाकका प्रहरी पनि तैनाथ हुनेछन्। साथै, आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै अस्पताल, एम्बुलेन्स र दमकललाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ।
यस वर्षको बिस्केट जात्रा चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म भव्य रूपमा सञ्चालन हुनेछ।




.gif)





