बागलुङ । बागलुङमा आजदेखि ऐतिहासिक चैते दसैँ मेला सुरु भएको छ । मेलाको पहिलो दिन नै बागलुङ कालिकामा भक्तजनको घुइँचो बढेको छ । बिहान पाँच बजेदेखि नै मन्दिरमा पूजाअर्चना गर्ने दर्शनार्थीको भिड लागेको हो । हरेक वर्ष बागलुङमा चैते दसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैते दसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित कालिका मन्दिरमा बडा दसैँ र चैते दसैँमा विशेष पूजा हुने हुँदा दर्शनार्थीको भिड हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्का बताए । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका अध्यक्ष खड्काले बताए ।मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैते दसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि आजदेखि नै सुरु भएको छ । आजदेखि सुरु भएको मेला चैत १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले जानकारी दिए ।मेलामा दुई लाख पुरस्कार राशिको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, ३ लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, १ लाख पुरस्कार राशि सहित कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम आयोजना गरिएको छ । मेलाको लाखौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।




.gif)



