काठमाडौं । खाना पकाउने एलपी ग्यास अभाव खेपेका उपभोक्ताहरू अहिले विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को आठ महिनाको (साउनदेखि फागुन मसान्त) तथ्यांकअनुसार नेपालमा कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो आयात भएको छ।
आयात भएका चुलोमध्ये सबैभन्दा बढी आकर्षण इन्डक्सन चुलो मा देखिएको छ। समीक्षा अवधिमा १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो भित्रिएको छ।
यसैगरी इन्फ्रारेड चुलो को आयात पनि उल्लेख्य रहेको छ। आठ महिनामा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ। इन्डक्सन र इन्फ्रारेड बाहेक अन्य प्रकारका विद्युतीय चुलो भने ९ सय २९ थान मात्रै भित्रिएका छन्।
आर्थिक पक्ष हेर्दा, यी विद्युतीय चुलो आयातका लागि ठूलो रकम बाहिरिएको छ। आठ महिनामा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ।
यसमा इन्डक्सन चुलोको मात्रै २२ करोड २७ लाख ४ हजार रुपैयाँ बराबर आयात भएको छ भने इन्फ्रारेड चुलोको ७ करोड ६७ लाख ७ हजार रुपैयाँ छ।
यी चुलो आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।
ऊर्जा खपतको स्वरूप परिवर्तन हुँदै जाँदा र ग्यास आपूर्तिमा देखिएको अनिश्चितताका कारण विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण अझ बढ्ने देखिएको छ।




.gif)





