images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • गोर्खा मिडियामा आएको पैसा खर्च गरेको...

गोर्खा मिडियामा आएको पैसा खर्च गरेको जिम्मा लिन म तयार छु, जिम्मेवारीबाट म बिमुख भएको छैन, रवि लामिछाने

गोर्खा मिडियामा आएको पैसा खर्च गरेको जिम्मा लिन म तयार छु, जिम्मेवारीबाट म बिमुख भएको छैन, रवि लामिछाने

images
images
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सहकारी मार्फत गोर्खा मिडियामा आएको रकम खर्च गरेको हकमा आफूले जिम्मा लिनुपर्छ भने आफू त्यसको लागि तयार रहेको बताएका छन्।

    images
    images

    शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिनमा लामिछानेले यस्तो बताएका हुन्। उनले आफू जिम्मेवारीबाट बिमुख नभएको तर गलत व्याख्या गरेर राज्य शक्तिको दुरुपयोग भइरहेको आरोप लगाए। बचतकर्ताको रकम विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको र उक्त रकम खर्च गर्न लामिछानेको पनि भूमिका रहेको निष्कर्ष सहित संसदीय छानबिन विशेष समितिले उनलाई कारबाहीको सिफारिस गरेको थियो।

    ‘कम्पनीमा आएको पैसा खर्च गरेको हकमा जिम्मेवारी लिनुपर्छ भने म तयार छु। त्यो जिम्मेवारीबाट म बिमुख भएको छैन,’ उनले भने, ‘तर, गलत व्याख्या गरेर, राज्य शक्तिको दुरुपयोग गरेर यता फसाउन सकिन्छ कि उता तान्न सकिन्छ कि भनेर षड्यन्त्र गर्नु पर्दैन। दुई वर्ष खोज्दा नपाएको प्रमाण अब कति खोज्नुहुन्छ, खोज्नुस्।

    images
    images

    उनले सहकारी बचतकर्ताको रकम फिर्ता गराउन आफू र आफ्नो पार्टी निरन्तर लागिरहेको पनि बताए। ‘म अनुसन्धानमा सघाउँछु। मैले कहाँ बयान दिनुपर्छ, दिन्छु। म कहाँ आउनुपर्छ, आउँछु। वा म जेलै जानुपर्छ भने पनि तयार छु,’ उनले भने, ‘पीडितको रकम फिर्ता गराउने वातावरण बनाउन रास्वपा र म लागिरहने छौं। गृहमन्त्री हुँदा पनि मन्त्रिपरिषद्‌मा विशेष प्रस्ताव लगेर निर्णय गराएको थिएँ। तर, सरकार फेरियो।’

    राज्यका सबै निकाय प्रयोग गरेर आफूलाई फसाउन प्रयास गरिएको गम्भीर आरोप पनि लगाए। ‘एउटा मान्छेलाई दोषी देखाउन डेढ।दुई वर्ष पर्याप्त हुँदैन र? राज्यका सबै निकाय प्रयोग गरेर बनाएको संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा मेरो कहिँ–कतै संलग्नता देखिएन भनेर भनेको होइन र?,’ उनले भने, ‘त्यसको अपव्याख्या त जे गरे पनि भयो, सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्ने नियतमा बनाइएको समितिले संलग्नता भेटेन त म के गरौं?’

    सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउने विषयमा आफ्नो संलग्नता नरहेको यहाँ पनि उनले दोहोर्‍याए। ‘सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने कुरामा मेरो संलगन्ता छैन। तर, आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ। कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रुपमा निव्र्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन्। थाहा भएन त म के गरौं?’ उनले भने।

    आफू गोर्खा मिडियामा कार्यरत हुँदा यस खाले गुनासो आएको भए त्यतिखेरै आफूले यसबारे खोजी गर्ने बताउँदै उनले आफू दोस्रो पटक मन्त्री हुँदामात्रै यसबारे जानकारी पाएको बताए।

    ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रुपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि,’ उनले भने, ‘तर, राजनीतिमा आएपछि थाहा पाएँ। अझ म दोस्रो पटक मन्त्री भएपछि राजनीतिक स्वार्थका लागि यो विषय चर्कोसँग उचालियो।’

    लामिछानेले आफूले कम्पनीको खातामा भएको रकम कम्पनीकै हितका लागि खर्च गरेको बताए। ‘मैले त कम्पनीको खातामा भएको पैसा कम्पनीकै हितका लागि खर्च गरेको हुँ। बैंकबाट बैंकमै आएको पैसाबारे मलाई होइन राज्यका सम्बन्धित निकायलाई जानकारी हुनुपर्थ्यो होइन र?,’ उनले भने, ‘६५ करोड नै म हुँदा आएको र त्यसमा मेरो जिम्मेवारी हुनुपर्छ भनेर गलत व्याख्या गरिँदैछ, त्यो सत्य होइन्।’

    त्यस्तै उनले ७५ अर्ब रकम अपचलनको विषय आउँदा आउँदै राजनीतिक स्वार्थका कारण आफूमै केन्द्रित हुँदा सहकारीपीडितप्रति अन्याय भइरहेको बताए।

    उनले आफूले सहकारीको रकम अपचन नगरेको र कसैलाई नठगेको पनि दोहोर्‍याए। ‘मैले कुनै पनि सहकारीको पैसा अपचलन गरेको छैन। मैले कसैलाई ठगेको छैन,’ उनले भने,’बरु कयौं ठगलाई जेल कोचेर सञ्चारकर्मबाट राजनीतिमा आएको हुँ। अहिले पनि प्रतिवेदनको कुन पाना पल्टाएर, कुन वकील, कुन न्यायाधीशसँग वा कुन पार्टीको को नेतासँग कुन ठाउँ।क्षेत्रमा बहस गर्नुपर्ने हो तयार छु।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend