पोखरा । पर्यटकीय नगरी पोखरामा रहेका स्वदेशी तथा विदेशी पर्यटकले सोमबार स्वस्फूर्त रूपमा रंग खेल्दै फागुपूर्णिमा (होली) मनाएका छन्।
निर्वाचनका कारण जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक रूपमा फागु खेल्न कडाइ गरेपछि विगतका वर्षहरूमा जस्तै औपचारिक कार्यक्रम भने आयोजना भएन। यसअघि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेवान० ले पर्यटकलाई लक्षित गर्दै ‘होली फेस्टिभल’ आयोजना गर्दै आएको थियो, जसमा पोखरामा रहेका पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्दथ्यो।
यस वर्ष औपचारिक फेस्टिभल नभए पनि त्यसकै झल्को दिने गरी पर्यटकहरू फेवाताल किनार, मुख्य सडक तथा विभिन्न रेस्टुरेन्टमा भेला भई स्वस्फूर्त रूपमा रंग खेल्दै रमाएका थिए। विशेषगरी फेवाताल आसपासको क्षेत्र रंगीन बनेको थियो।
पर्यटकहरूले स्थानीयसँग मिलेर एकआपसमा रंग लगाउँदै नेपाली परम्परा र संस्कृतिलाई पछ्याएका थिए। विगतमा होली फेस्टिभलमार्फत पर्यटकलाई फागु पर्वको सांस्कृतिक महत्वबारे जानकारी गराइँदै आएकोमा यस वर्ष भने औपचारिक कार्यक्रम बिना नै उत्सवमय वातावरण बनेको देखिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार, औपचारिक कार्यक्रम नभए पनि पर्यटकको सहभागिताले पोखराको पर्यटन गतिविधि चलायमान रहेको सन्देश दिएको छ।




.gif)





