images

२०८३ आश्विन १८ गते

images
images
images

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • नवलपरासी, २७ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ ।

    images
    images

    प्रदेश जनस्वास्थ्य कार्यालय नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने कार्यक्रमबाट जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन् । अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उहाँले जानकारी दिए ।

    “जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने, “सबैभन्दा बढी कावासोती नगरपालिकामा ८१० जना छात्रालाई खोप लगाइनेछ भने गैँडाकोट नगरपालिकामा ७३०, देवचुली नगरपालिकामा ६३५, मध्यविन्दु नगरपालिकामा ५५२, विनयी त्रिवेणी गाउँपालिकामा ३८४, हुप्सेकोट गाउँपालिकामा २७१, बुलिङटार गाउँपालिकामा १११ र बौदीकाली गाउँपालिकामा १०२ जना छात्रा लक्षित छन् ।”

    images
    images

    खोप अभियान सञ्चालनका लागि जिल्लामा २४९  खोप केन्द्र तोकिएका छन् । अभियानमा ३३९ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने प्रमुख चापागाईंले जानकारी दिए । खोपका लागि आवश्यक सिरिञ्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियर लगायत सामग्रीको व्यवस्थापन समेत पूरा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    “एचपिभी भाइरस सङ्क्रमणकै कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने भएकाले बाल्यावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास लिइएको छ”, उनले भने, “खोप पूर्ण रूपमा निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको छ ।” 

    प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित सबै छात्रालाई खोप अभियानमा सहभागी गराउन विद्यालय, अभिभावक तथा स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । 

    महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । पाठेघरको मुखको क्यान्सर न्यूनीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको यस अभियानले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend