काठमाडौँ । एक साता ग्यास अभाव देखिएको बजारमा अहिले आपूर्ति सहज भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका कारण ग्यास आपूर्ति कम हुँदा बजारमा असहज स्थिति सिर्जना भएको थियो।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बरौनी रिफाइनरीको मर्मत कार्य सकिएपछि ग्यास आपूर्ति सामान्य भएको छ। मर्मतका क्रममा नेपालका लागि तोकिएको कोटा भन्दा कम आपूर्ति हुँदा अभाव देखिएको हो। साथै जाडो महिनामा ग्यास खपत करिब १५ प्रतिशतले बढ्ने भएकाले पुस–माघमा यो समस्या बढेको थियो।
ठाकुरले जानकारी दिए अनुसार हाल बजारमा केही उद्योगहरूमा मात्र ग्यास सिलिण्डरको अभाव देखिएको छ। सबै उद्योगलाई सिलिण्डर आपूर्ति सहज बनाउने निर्देशन दिइसकिएको छ। गत नोभेम्बरमा ४७,२६४ टन, डिसेम्बरमा ४८,५३१ टन र जनवरीमा ४७,३०४ टन ग्यास बिक्री भएको थियो। अहिले बजारमा ४९,५ सय टन ग्यास मौज्दात छ।
निर्वाचन नजिकिँदै गर्दा निगमले फेब्रुअरीमा अन्य महिनाभन्दा थप २,००० टन ग्यास आयात गर्ने तयारी गरेको छ। नेपालमा ५९ ग्यास उद्योग छन् र उद्योगीहरूले आईओसीबाट आयात गरिएका ग्यास सिलिण्डरमा रिफिल गरी वितरण गर्छन्।
नेपाल ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार हाल नेपाल, बाबा, ओम्, एभरेष्ट ग्यासमा थोरै अभाव देखिएको छ भने अन्य उद्योगको आपूर्ति सामान्य छ।




.gif)





