images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • अन्तर्राष्ट्रिय बजारमा किन घट्दैछ सुनचाँदी र...

अन्तर्राष्ट्रिय बजारमा किन घट्दैछ सुनचाँदी र तेलको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा किन घट्दैछ सुनचाँदी र तेलको मूल्य ?

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौँ । कमोडिटी बजारमा हुने गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । कमोडिटी बजार अन्तर्गत सुन, चाँदी, तेल र औद्योगिक धातुहरूमा तीव्र गिरावट देखिएको हो । सुनको मूल्य करिब ९ प्रतिशतले घटेर दुई साताभन्दा बढी समयकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ। चाँदीको मूल्य १३ प्रतिशतभन्दा बढीले घटेको छ । यी दुवै धातुले गएको साता रेकर्ड मूल्य छोएका थिए ।तेलको मूल्य सोमबार झण्डै ५.५ प्रतिशतले घटेर पछिल्ला केही महिनाकै उच्च स्तरबाट तल झरेको छ । त्यस्तै, लन्डन मेटल एक्सचेन्जमा तामाको मूल्य पनि करिब ५ प्रतिशतले घटेको छ ।

    images
    images

    यो गिरावट आउनुमा तीन वटा कारण प्रमुख देखिएको छ । अमेरिकी केन्द्रीय बैंकको अध्यक्ष चयन हुनु र चिनियाँ नयाँ वर्षको अवसरमा तामा र फलाम लगायत धातुको माग सुस्त हुने अनुमानले कमोडिटीज बजारमा गिरावट देखिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकको आगामी अध्यक्षका रूपमा केभिन वार्श चयन गरेका छन् । कमोडिटी बजारका रणनीतिकार विवेक धारका अनुसार, ‘अमेरिकी सेयरसँगै सुनचाँदीजस्ता सुरक्षित मानिने धातु पनि बिक्री हुनुको अर्थ लगानीकर्ताले केभिन वार्शलाई कडा मौद्रिक नीति अपनाउने व्यक्ति ठानेका छन् ।’उनका अनुसार अमेरिकी डलर बलियो बन्दै जाँदा सुन, तेल र अन्य धातुहरूमा थप दबाब परेको छ । यद्यपि, उनले चौथो त्रैमासिकमा सुनको मूल्य अझै उच्च स्तरमा पुग्ने अनुमान कायम नै राखेका छन् ।

    शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडका वर्तमान अध्यक्ष जेरोम पाउलको स्थानमा केभिन वार्शलाई चयन गरेपछि सेयर र कमोडिटी बजारमा एकैसाथ बिक्री बढेको थियो । यसले डलरलाई भने बलियो बनाएको छ ।वाल स्ट्रिटको असर एसियाली सेयर बजारमा पनि देखियो । सुन–चाँदी उच्च बिक्री हुँदा यो साता सुरु हुन लागेको कर्पोरेट नतिजा, केन्द्रीय बैंक बैठक र आर्थिक तथ्याङ्कहरूबिच बजार थप अस्थिर बनेको छ ।सुन र चाँदीमा बिक्री अझ तीव्र तब भयो जब सीएमई ग्रुपले धातुका फ्युचर कारोबारमा लाग्ने धरौटी (मार्जिन) बढाउने घोषणा गर्‍यो । धरौटी बढ्दा लगानीकर्तालाई बढी पैसा थन्क्याउनुपर्ने भएकाले धेरैले आफ्नो लगानी फिर्ता लिन थालेका छन् ।शुक्रबार सुनको मूल्य एकै दिनमा १९८३ यताकै सबैभन्दा ठुलो गिरावट झेल्दै ९ प्रतिशतभन्दा बढीले घटेको थियो । चाँदी त झन् इतिहासकै सबैभन्दा ठुलो दैनिक गिरावटसहित २७ प्रतिशतले खसेको थियो ।

    images
    images

    ऊर्जा बजारमा पनि सोमबार दबाब देखियो। अमेरिका र इरानबिचको तनाव केही कम हुने सङ्केत आएपछि तेलको मूल्य घटेको हो । ट्रम्पले इरानले अमेरिकासँग ‘गम्भीर वार्ता’ गरिरहेको बताएका थिए ।त्यसैगरी, इरानको नौसेनाले हर्मुज जलडमरूमा सैन्य अभ्यास नगर्ने समाचार पनि तनाव घट्ने सङ्केतका रूपमा हेरिएको छ ।चीनमा आउँदो फेब्रुअरी १५ बाट सुरु हुने चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर) नजिकिँदै गर्दा तामा र फलाम अयस्कको माग सुस्त हुने अनुमानले पनि बजारमा दबाब परेको छ । चीन विश्वकै सबैभन्दा ठुलो धातु खरिदकर्ता हो ।विश्लेषकहरूका अनुसार चाडपर्वअघि अन्तिम प्रयोगकर्ताको खरिद र कारोबार सुस्त रहनेछ । अन्य कमोडिटीमा, टोकियोको रबर करिब ३ प्रतिशतले घटेको छ भने शिकागोमा गहुँ र सोयाबिनको मूल्य करिब १ प्रतिशतले घटेको छ ।विवेक धार भन्छन्, ‘मुख्य प्रश्न यो हो कि यो गिरावट दीर्घकालीन मोड हो कि सामान्य सुधार मात्र ?’उनको निष्कर्ष छ, ‘हामी यसलाई बजारको अस्थायी सुधार र किन्ने अवसरका रूपमा हेर्छौँ, आधारभूत परिवर्तनका रूपमा होइन ।’(रोयटर्सबाट)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend