images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको...

विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण

विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण

images
images
शनिवार, माघ १० २०८२
शनिवार, माघ १० २०८२
  • पाटन (ललितपुर), १० माघः सरोकारवालाले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

    images
    images

    जिल्ला समन्वय समिति ललितपुरद्वारा शुक्रबार यहाँ आयोजित ललितपुर जिल्ला केन्द्रीत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी शैक्षिक बहसमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले विद्यालयको समस्या समाधान गर्न नेतृत्वकर्ता प्रधानाध्यापकबाट नै समस्याको सङ्कलन गरेर प्रभावकारी समाधानमा काम गर्न लागिएको बताउनुभएको हो ।

    “देशको संविधानले शिक्षा नागरिकको नैसर्गिक अधिकारको रूपमा स्थापित गरेको छ, संविधानले गरेको व्यवस्था कार्यान्वयनमा हामीले ध्यान दिनुपर्छ, तसर्थ जिल्ला छ वटै स्थानीय तहसँग समन्वय गर्नेछौँ, विद्यार्थी र विद्यालयका सबै समस्या समाधानका लागि ध्यान दिन्छौँ, स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई नै जिम्मेवार बनाउने गरि काम गर्छौँ,” उहाँले भन्नुभयो ।

    images
    images

    प्रमुख फूँयालले सबै सामुदायिक विद्यालयका शैक्षिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा ध्यान दिएर लाग्ने बताउनुभयो । उहाँले विद्यालयका समस्याको बारेमा सुझाव प्राप्त भएकोले प्रभावकारी शैक्षिक कार्यतालिका तयार गरी व्यवस्थित तरिकाले शिक्षण गर्न, सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन रचनात्मक सहयोग र सहकार्यमा तत्पर रहने बताउनुभयो ।

    कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले शिक्षा क्षेत्रमा सुधारका लागि लामो समयसम्म निरन्तर योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहबाट प्रभावकारी समन्वय, सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

    जिल्ला शिक्षा समन्वय इकाई ललितपुरका प्रमुख प्रकाश सापकोटाले प्रधानाध्यापक नै विद्यालयको नेतृत्वकर्ता भएकोले विद्यार्थीको शिक्षण सिकाइ उपलब्धि हासिल गर्न, शैक्षिक गुणस्तर सुधार्न र विद्यालयका समस्या समाधान गर्दै गुणस्तरमा उत्कृष्टता हासिल गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा सबैको दायित्व भएको बताउँदै शिक्षामा सुधार र गुणस्तर कायम राख्नका लागि स्थानीय तह, विद्यालय नेतृत्व र अभिभावक सबैले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका निर्देशक देवीप्रसाद उपाध्यायले कक्षा कोठाभित्रको वातावरण सुधार नभएसम्म शिक्षण सिकाइ उपलब्धि हासिल नहुने भन्दै यसका लागि उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले देशभर कूल बजेटको ११ प्रतिशत मात्रै शिक्षा क्षेत्रमा लगानी भएको जानकारी गराउँदै २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

    बज्रबाराही माध्यमिक विद्यालय चापागाउँका प्रधानाध्यापक रामेश्वर महर्जनले एक हजार ३४७ जना विद्यार्थी अध्ययन गरिरहेको आफ्नो विद्यालय गोदावरी नगरपालिकाभरका विद्यालयमा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्न सफल भएको बताउनुभयो । २०७४ सालबाट नमूना विद्यालयका रूपमा परिचित हुन सफल भएको बज्रबाराही माध्यमिक विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि र उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै समुदायको विश्वास आर्जन गर्न सफल भएको जानकारी गराउनुभयो ।

    महाँकाल गाउँपालिका–४ कालेश्वरस्थित बागभैरव प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलाप्रसाद तिमल्सिनाले अघिल्लो वर्ष सत् प्रतिशत नतिजा हासिल गर्न सफल भएको आफ्नो विद्यालयले विद्यार्थी सङ्ख्या सुधार र नजिजा वृद्धिका लागि भौतिक सुधार र विद्यार्थीका लागि छात्रबासको व्यवस्था गरेको बताउनुभयो । उहाँले विद्यालयलाई अपाङ्गतामैत्री र वालमैत्री बनाइएको जानकारी गराउँदै विद्यालयका लागि स्थानीय तहको समन्वय र सहकार्य प्रभावकारी रहेको बताउनुभयो ।

    कोञ्ज्योसोम गाउँपालिका–२ शङ्खुस्थित मगरगाउँ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक सुरेशशर्मा बजगाईले आफ्नो विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै बसाइँसराइ र अभिभावक वैदेशिक रोजगारीमा हुँदा बालबालिका शहरी क्षेत्रमा केन्द्रीकृत भएको कारण विद्यार्थी सङ्ख्या घटेको धारणा राख्नुभयो ।

    ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका प्राधानाध्यापक मीरा श्रेष्ठले आफ्नो विद्यालयले विद्यार्थीको आवश्यकता र रुचीमा आधारित सिकाइलाई जोड दिएको जानकारी गराउँदै विद्यार्थीकोबाट आएको आलोचनात्मक सुझावलाई पनि ग्रहण गर्दै शिक्षणलाई जोड दिइरहेको बताउनुभयो ।

    महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालय हेमराज भट्टराईले सिभिल इन्जिनियरिङमा ४४ जना विद्यार्थीसहित यो वर्ष एक हजार ३५४ जना अध्ययनरत रहेको जानकारी गराउँदै शैक्षिक सुधारको लागि ध्यानदिँदै बालमैत्री, विद्यार्थीमैत्री र सूचनाप्रविधिमा आधारित रहेर शिक्षण गर्ने पद्धतिलाई जोड दिइएको बताउनुभयो ।

    जिल्ला समन्वय समिति ललितपुरका जिल्ला समन्वय अधिकारी  हरिनारायण बेल्वासेले सहरी क्षेत्रमा विद्यार्थीको सङ्ख्याअनुसार विद्यालय नभएको र ग्रामीण क्षेत्रमा विद्यालयअनुसार विद्यार्थी सङ्ख्या नभएको यथार्थलाई स्वीकार गर्दै शिक्षा क्षेत्रमा भएका काम र भएको लगानीको एकीकृत प्रतिवेदन तयार गरेर प्रत्येक पालिका र विद्यालयमा पठाउनेकार्य जिल्ला समन्वय समितिले गर्ने जानकारी गराउनुभयो ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend