वासिङ्टन डीसी । अमेरिका सरकारले घरेलु चिप निर्माता कम्पनी एनभिडियालाई आफ्ना परिष्कृत कृत्रिम बौद्धिकता (एआई) मा आधारित चिप चीनलाई बिक्री गर्न अनुमति दिएको छ ।वाणिज्य विभागका अनुसार एनभिडियाको एच–२०० चिप पर्याप्त मात्रामा अमेरिकाभित्र उपलब्ध गराएपछि चीन पठाउन सकिनेछ । यो अमेरिकाले चीनलाई बेच्न रोक लगाएको दोस्रो सबैभन्दा परिष्कृत चिप हो ।यी चिपले चीनको प्रविधि र सैन्य क्षमतामा फाइदा पुग्ने भन्दै ती बेच्न प्रतिबन्ध लगाइएको थियो । चीनमा ‘स्वीकृत ग्राहक’ लाई २५ प्रतिशत शुल्कसहित चिप बिक्री गर्न अनुमति दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना भनेका थिए । अमेरिकी पक्षले चिप सैन्य प्रयोजनमा प्रयोग नहुने र चिनियाँ ग्राहकसँग पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्ने सर्त राखेको छ ।
चिपको निर्यात रोकेर अमेरिकाले प्रविधि र व्यापारलाई राजनीतिक हतियार बनाइएको आरोप चीनले लगाउँदै आएको थियो । यस कदमको एनभिडियाले स्वागत गरेको छ । यसले अमेरिकामा उत्पादन र रोजगारी दुबैलाई फाइदा पुग्ने कम्पनीका प्रवक्ताले भनेका छन् ।एनभिडियाको एच २०० चिप र कम परिष्कृत प्रोसेसहरूका लागि निर्यात नीतिमा संशोधन गरिएको अमेरिकाको वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा विभागले भनेको छ ।




.gif)



