कास्की, २३ पुस । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धार देखि सेतीपुल सम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ। यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल देखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंक चोक–शहिद चोक–लेकसाइड–हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले विद्युत्तार भूमिगत गर्ने कार्य भइरहेको पोखरा– भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताउनुभयो । उहाँका अनुसार यस आयोजनाको हालसम्म ६५ प्रतिशत काम सकिएको र न्यूरोड क्षेत्रमा भने केही समयपछि काम हुनेछ ।
“पोखराको बिजुलीको स्रोत कुँडहर सवस्टेशन देखि काम सुरु गरेर पूर्वमा विमानस्थलद्वार र पश्चिममा सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ, बाँकी अन्य कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी छ भने अन्य क्षेत्रमा पछिल्लो समय तीव्रताका साथ काम अघि बढाइएको छ”, आयोजना प्रमुख सुवेदीले भन्नुभयो ।
उहाँले आगामी जुन ३१ गतेसम्म निर्माणको म्याद रहेको र सो समयसम्म सबै काम सम्पन्न हुने विश्वास लिइको जानकारी दिनुभयो । पोखरामा विद्युत् तार भूमिगत गर्ने परियोजना सन् २०२२ मा सुरु भएको हो । सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययन लगायतमा समय लागेकाले काम भने एक वर्षपछि मात्र सुरु भएको थियो।
आयोजना प्रमुख सुवेदीले ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको बताउनुभयो । यसरी तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइएको छ ।
विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । पोखराको २३ किमी क्षेत्रको बिजुलीको तार भूमिगत गर्नका लागि रु एक अर्ब ७० करोड बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ । आयोजना प्रमुख सुवेदीले भरतपुरको भने ७४ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । भरतपुरको लागत रु एक अर्ब ३० करोड छ ।
पोखरा महानगरमा बिजुलीको तार भूमिगत गरिएसँगै इन्टरनेट र टेलिफोनका तारहरुलाई व्यवस्थित गर्ने बारेमा महानगरले चासो दिएको छ । महानगरले इन्टरेनट सेवा प्रदायकहरुसँग पटकपटक छलफल गरी बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन आग्रह गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकहरुलाई यथाशक्य छिटो विद्युत् प्राधिकरण सँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजना अनुसार अहिले विद्युत् प्राधिकरणले काम गरिरहेको छ । यस कार्यमा सहयोगका लागि इन्टरनेट सेवाप्रदायकहरुसँग आग्रह गरेका छौँ । उहाँहरुले नहटाए महानगर आफैँले हटाउँछ”, उहाँले भन्नुभयो ।




.gif)





