विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ थालेको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ।
विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार सो अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल रकम ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ रहेको छ। बक्यौता रकम असुलीलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म किस्ताबन्दी प्रणालीमार्फत १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ असुल गरिएको छ। बाँकी रकम उठाउन महसुल नबुझाउने उपभोक्ताको पहिचान गर्दै लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
वितरण केन्द्र प्रमुख शाहले पटक–पटक आग्रह गर्दा पनि महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कदम चाल्न बाध्य भएको बताए। उनले समयमै महसुल बुझाएमा लाइन काट्ने अवस्था नआउने स्पष्ट पार्दै सबै उपभोक्तालाई जिम्मेवार बन्न आग्रह गरे।
नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा सहज र नियमित रूपमा सञ्चालन गर्न उपभोक्ताबाट समयमै महसुल भुक्तानी अनिवार्य रहेको उल्लेख गर्दै बक्यौता भएका ग्राहकलाई तत्काल महसुल बुझाउन अनुरोध गरेको छ।




.gif)





