काठमाडौँ, २८ मङ्सिर । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ स्थित मंगलासैनी माध्यमिक विद्यालय, खिरचौलालाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटर सहित शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत करिब १ लाख ९५ हजार रुपैयाँ मूल्यका चार थान कम्प्युटर तथा शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेको हो। कालीकोटमा विगत आठ वर्षदेखि सेवा दिँदै आएको बैंकले विकट क्षेत्रका विद्यालयलाई लक्षित गरी उक्त सहयोग गरेको जनाएको छ।
शुक्रबार बैंकका प्रवन्धक रोहन कुमार बिष्ट ले लालु गाउँमै पुगेर कम्प्युटर हस्तान्तरण गरेका थिए। सो अवसरमा उनले अहिलेको युग प्रविधिको युग भएकाले शिक्षामा सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताए।
वि।सं। २०४२ मा स्थापना भएको मंगलासैनी विद्यालय २०६८ सालदेखि माध्यमिक विद्यालयका रूपमा सञ्चालन हुँदै आएको छ। हाल विद्यालयमा ३८५ जना विद्यार्थी अध्ययनरत छन्। कम्प्युटर सहयोगले पठनपाठनमा सहयोग पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक पंखबहादुर बिष्ट ले बैंकप्रति आभार व्यक्त गरे।




.gif)





