म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्तक रहेको सो आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।
'चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ,' केसीले भने, '२०८३ साल फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युत्गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।' कुल ५ हजार ७ सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २ हजार ३ सय ६० मिटर निर्माण सकिएको छ । त्यस्तै, बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युत्गृहको उत्खनन कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । १९ चैत २०८० मा सम्झौता गरेको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरले ८ जेठ २०८१ मा काम सुरु गरेको थियो ।
धवलागिरी गाउँपालिका–४, खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीनवटा पानी थिग्राउने पोखरी निर्माणाधीन छन् । मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युत्गृहको उँचाइ १ सय ९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ । विद्युत्गृहबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेसन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।
सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्तक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७, भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत ३ सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । भारवाङबाट बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि ६ करोड २० लाख बजेट विनियोजन गरेको छ । हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए ।




.gif)





