काठमाडौँ । मंसिर १४, नेपाल विद्युत् प्राधिकरण (नेविप्रा)ले डेडिकेटेड फिडर तथा ट्रंकलाइन शुल्क बक्यौता सम्बन्धी विवादमा पहिलो किस्ता बुझाएर लाइन पुनः जडान गराएका उद्योगीहरूसँग दोस्रो किस्ता समेत तत्काल बुझाउन आग्रह गरेको छ।
प्राधिकरणका वितरण केन्द्रहरूले मंगलबार देखि सम्बन्धित उद्योगहरूलाई औपचारिक पत्राचार गर्दै दोस्रो किस्ता बुझाउन सूचित गरेका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता तिरेका उद्योगलाई दोस्रो किस्ताको समयमै भुक्तानीका लागि ताकेता गरिएको हो।
उद्योगीहरूले प्राप्त पत्रमा प्राधिकरणले पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै निर्धारित समयमै दोस्रो किस्ता बुझाउन अनुरोध गरेको उल्लेख छ। प्राधिकरणले कुल बक्यौता रकमलाई २८ किस्तामा तिर्न सकिने व्यवस्था गरेको छ।
यसैक्रममा हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बुझाइसकेका छन्। अशोक स्टीलले दोस्रो किस्ताका रूपमा ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसअघि कम्पनीले पहिलो किस्तामा पनि सोही रकम तिरेको थियो। कम्पनीको कुल बक्यौता १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ रहेको छ।
हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ। कम्पनीको कुल बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ छ।
गत कार्तिकमा बक्यौता नतिरेका कारण प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो। लाइन काटिएपछि उद्योगहरूले पहिलो किस्ता तिरेका थिए।
यता, उच्च सरकारी तहमा भएको समझदारीअनुसार पहिलो किस्ता ‘धरौटी’ मानेर कानुनी उपचार (पुनरावलोकन)मा जाने भनिए पनि प्राधिकरणले सो प्रक्रिया अगाडि नबढाई नियमित किस्ता असुलीमै अघि बढेको उद्योगीहरूको आरोप छ। प्राधिकरणले प्रशासकीय पुनरावलोकन प्रक्रिया शुरू नगरी नियमित किस्ता असुलीलाई निरन्तरता दिएको हो।




.gif)





