काठमाडौँ । मंसिर १४, सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई अनुमतिपत्र दिएको हो।
४५ मेगावाट क्षमताको स्यार खोला आयोजना चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने चुम्चेत स्यार खोला जलविद्युत् आयोजना गोरखाको चुम्चेतमा अवस्थित छ। बुढीगण्डकी नदीमा प्रवाही प्रकारमा निर्माण हुन लागेको सो आयोजना ४५ मेगावाट क्षमताको हुनेछ।
आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट घण्टा उर्जा उत्पादन हुने र उत्पादन भएको विद्युत् ‘न्यू बुढीगण्डकी प्रोक’ सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने विभागले जनाएको छ। २२० केभी क्षमताको ११० किमि लामो प्रसारण लाइन निर्माण कार्य राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अघि बढाइरहेको छ।
रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना सम्पन्न भइसकेपछि चिलिमे जलविद्युत् कम्पनीलाई नयाँ परियोजना आवश्यक परेको अवस्थामा स्यार खोला आयोजना महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।
मिडिल लिखु र छोमरोङ खोला आयोजना पनि अनुमति प्राप्त विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई पनि अनुमतिपत्र प्रदान गरेको छ। रामेछापको साँघुटारमा निर्माण हुने सो आयोजनाको क्षमता ८.६० मेगावाट छ।
यस्तै, घान्द्रकु हाइड्रोले निर्माण गर्ने ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन अनुमति दिइएको छ।
अनुमतिपत्र प्राप्त आयोजनाको समग्र स्थिति विभागका अनुसार हालसम्म देशभर २६३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ, जसको कुल क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ। चालु आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनाले उत्पादन अनुमति पाएका छन्।
यसैगरी, चालु आवमा मात्रै ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् भने हालसम्म विभागमा जम्मा १९३ वटा आयोजनाले यस्तो अनुमति माग गर्दै आवेदन दर्ता गराएका छन्। ती आयोजनाको प्रस्तावित कुल क्षमता ९ हजार ६८९ मेगावाट रहेको छ।




.gif)





