काठमाडौँ । मंसिर १०, भन्सार राजस्व लक्ष्यभन्दा ३५ अर्ब कमी, नयाँ अनलाइन प्रणालीमार्फत सुधारको प्रयास देशको वैदेशिक व्यापारमा वृद्धि भए पनि सरकारले भन्सार विन्दुहरूबाट अपेक्षित राजस्व सङ्कलन गर्न अझै सफल हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिनामा आयात–निर्यात विस्तार भए पनि भन्सार विभागले लक्ष्यभन्दा ३५ अर्ब ५२ करोड रुपैयाँ कम राजस्व उठाउन सकेको छ।
भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म १ खर्ब ९४ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। तर, सो अवधिमा १ खर्ब ५८ अर्ब रुपैयाँ मात्र उठेको छ। यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने राजस्व ११ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४६ अर्ब राजस्व सङ्कलन भएको थियो।
जाँचपास कडाइका लागि ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ भन्सार राजस्व लक्ष्यअनुसार सङ्कलन नहुनु पछाडि न्यून बीजकीकरण गलत वर्गीकरण र सम्भावित राजस्व चुहावट प्रमुख कारण भएको विभागको निष्कर्ष छ। समस्यालाई नियन्त्रण गर्न विभागले नयाँ ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू गर्न थालेको छ।
विराटनगर र वीरगञ्ज भन्सारमा यो प्रणाली जडान भइसकेको छ भने भैरहवामा छिट्टै सञ्चालनमा आउनेछ। यो प्रणालीले मूल्याङ्कन कम गराएर वा महँगा सामानलाई सस्तो वर्गमा देखाइ आयात गरिने प्रवृत्तिमा रोक लगाउने अपेक्षा गरिएको छ।
विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागबीच समन्वय मजबुत बनाए चोरी–निकासी नियन्त्रण गर्न सकिने र यसले आन्तरिक तथा भन्सार दुवै राजस्व वृद्धि गर्नेछ।
आयात बढ्दा पनि किन बढेन राजस्व आयातको परिमाण बढे पनि राजस्व सोअनुसार नबढ्नुका कारणमा सहुलियत र कर छुटका व्यवस्थाहरू मुख्य रहेको भन्सार विभागले स्पष्ट पारेको छ। होटल तथा हाइड्रोपावर निर्माण सामग्रीमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने प्रावधान तथा वैदेशिक सहयोगमा चल्ने परियोजनाहरूका सामग्रीमा पूर्ण वा आंशिक छुटले राजस्व असुलीमा प्रत्यक्ष प्रभाव पारेको बताइन्छ।
‘कम भन्सार दर र छुट प्राप्त वस्तुहरूको हिस्सा ठूलो भएकाले अंकमा आयात बढे पनि राजस्व लक्ष्यमा पुग्न कठिन भएको हो,’ बर्तौलाले बताए।
वार्षिक लक्ष्य भेट्टाउने दाबी भन्सार विभागले यस वर्षको वार्षिक लक्ष्य भेट्टाउने दाबी गरेको छ। नयाँ बजेटसँगै कर दर हेरफेर भएका वस्तुको आयात बढ्ने र नयाँ अनलाइन प्रणालीको प्रभावकारिताले आगामी महिनामा राजस्व सङ्कलन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षका लागि विभागले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तय गरेको छ। पहिलो चौमासिकमा १ खर्ब ५८ अर्ब ७६ करोड उठेको छ। गत आर्थिक वर्षमा ५ खर्ब ८२ अर्ब ६७ करोडको लक्ष्य राखिएकोमा ८३.१ प्रतिशत अर्थात् ४ खर्ब ८४ अर्ब ७० करोड राजस्व असुली भएको थियो।




.gif)





