images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • पहिलोपटक नबिल बैंकले पायो अविमोच्य असञ्चित...

पहिलोपटक नबिल बैंकले पायो अविमोच्य असञ्चित अग्राधिकार सेयर निष्काशन अनुमति

पहिलोपटक नबिल बैंकले पायो अविमोच्य असञ्चित अग्राधिकार सेयर निष्काशन अनुमति

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल बैंकलाई अविमोच्य असञ्चित अग्राधिकार शेयर निष्काशनको अनुमति दिएको छ । बैंकले मागेको अनुमतिलाई शुक्रबार बोर्डले स्वीकृत गरेको हो ।यस अनुसार वित्तीय संस्थाको पुँजीगत संरचनालाई सुदृढ बनाउन प्रयोग हुने यो विशेष उपकरण निष्काशनका लागि बैंकले अनुमति प्राप्त गरेको हो । ५ करोड कित्ताका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ अर्ब रुपैयाँ बराबरको शेयर निस्काशनका लागि उक्त अनुमति प्रदान गरिएको हो । यसको वार्षिक ब्याजदर ८ प्रतिशत तोकिएको छ ।

    images
    images

    अविमोच्य असञ्चित अग्राधिकार शेयर एक यस्तो पुँजी बजार उपकरण हो, जसको भुक्तानी अवधि तोकिएको हुँदैन, त्यसैले यसलाई कहिल्यै चुक्ता नहुने अर्थात् ’अविमोच्य’ भनिन्छ। यसको अर्थ बैंकले यो शेयर कहिल्यै चुक्ता गर्दैन तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्छ ।यसको अर्को महत्त्वपूर्ण विशेषता ’असञ्चित’ हुनु हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र यस शेयरमा लाभांश वितरण गरिन्छ । यदि कुनै वर्ष कम्पनी नोक्सानीमा रह्यो वा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न सकेन भने सो वर्षको लाभांश सञ्चित भएर बस्दैन र भविष्यमा भुक्तानी पनि गर्नु पर्दैन । 

    संस्थागत लगानीकर्तालाई मात्र पहुँच

    images
    images

    नबिल बैंकले निष्काशन गर्न लागेको यो अग्राधिकार शेयर परिपत्र विधि (प्राइभेट प्लेसमेन्ट सर्कुलर) मार्फत निष्काशन हुनेछ । यसमा व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूले लगानी गर्न पाउने छैनन् । यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था रहेको छ ।नियामक निकाय नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम, भविष्यमा यो अग्राधिकार शेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन गर्न भने पाइन्छ । 

    नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय अभ्यास

    खासगरी सन् २००७ देखि २००९ को विश्वव्यापी वित्तीय सङ्कटपश्चात् विश्वभर वित्तीय संस्थाको पुँजीगत संरचनालाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय पुँजी बजारमा यो उपकरण व्यापक रूपमा प्रयोग हुँदै आएको थियो । नेपालमा यसअघि कृषि विकास बैंकले यस्तै शेयर जारी गरेको थियो । तर ६ प्रतिशत लाभांश दर रहेको उक्त सेयर सबै सरकारले नै किनेको छ । निजी क्षेत्रको बैंकले भने यो यस्तो सेयर पहिलोपटक निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुमति लिएर अग्राधिकार शेयर निष्कासन गर्न लागेको पनि यो पहिलोपटक हो ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति दिन सक्ने व्यवस्था गरेको छ ।

    जोखिम व्यवस्थापन र दोस्रो बजार कारोबार

    यस उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय सङ्कटको जोखिमलाई न्यूनीकरण गरी वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने विश्वास बोर्डले गरेको छ ।यो उपकरण दोस्रो बजारमा सूचीकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्ने जनाइएको छ । कम्पनी विघटन भएको अवस्थामा यस्तो सेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि हुन्छ । तर कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजी भन्दा पछाडि यसको भुक्तानी हुनेछ ।यद्यपि, यो शेयर अविमोच्य र असञ्चित प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नुअगाडि विवरण पत्र र जोखिम प्रकटीकरण विवरण राम्रोसँग अध्ययन गरी आफ्नो जोखिम वहन गर्ने क्षमता हेरेर मात्र लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend