गान्तोक। नेपाली सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको हो।प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन्। त्यसै गरी सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्माताहरु सहित अन्य टिमको उपस्थिति थियो।
प्रमुख अतिथि राईले फिल्मप्रति प्रशंसा व्यक्त गरिन्। “एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो चलचित्र सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर–२’ पनि हेर्ने चाहना छ, उनले सिक्किम सरकारले नेपाली भाषाका फिल्मलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका फिल्म निर्माण हुने अपेक्षा व्यक्त गरिन्।निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली फिल्म नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए।
प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट चलचित्र बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका फिल्महरू नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली फिल्म नै हुने बताए।




.gif)





