काठमाडौँ । मंसिर ०४, दाङ आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षका पहिलो चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्म रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८०.२५ प्रतिशत मात्र हासिल भएको कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरले जानकारी दिए।
गत वर्षको समान अवधिमा कार्यालयले रु ७० करोड ३८ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो। यस वर्ष लक्ष्यभन्दा कम सङ्कलन हुनुमा धेरै करदाताले आयकर विवरण पेस नगरेको, जेनजी आन्दोलनका कारण कार्यालय क्षतिग्रस्त भई सेवा अवरुद्ध हुनुले पुँजीगत लाभकर सङ्कलनमा गिरावट आउनुजस्ता कारण रहेको प्रमुख कर अधिकृत श्रीधर टण्डनले बताए।
टण्डनका अनुसार पुँजीगत खर्चमा कमी, ब्याजदर घटेसँगै ब्याजकर कम हुनु, आन्दोलनपछि सेवा पुनःस्थापनामा प्राथमिकता दिनु पर्दा प्रवर्द्धनात्मक तथा निरोधात्मक गतिविधिमा तीव्रता दिन नसकिएको पनि राजस्व घट्नुको कारण बनेको छ।
गत आर्थिक वर्ष २०८१।८२ मा कार्यालयले रु ३ अर्ब १४ करोड ८६ लाख राजस्व सङ्कलन लक्ष्य राखेकोमा रु २ अर्ब ९४ करोड २४ लाख मात्र सङ्कलन भएको थियो, जुन अघिल्लो वर्षभन्दा रु ५४ करोड ६० लाख बढी हो।
कर छुट तथा स्वैच्छिक कर सहभागितामा जोड,आर्थिक ऐन, २०८२ ले मूल्य अभिवृद्धि कर अन्तःशुल्क, कर निर्धारण भई बक्यौता रहेका करदाता तथा अन्य सम्बन्धित करदातालाई विभिन्न छुट तथा सहुलियत प्रदान गरेको छ। यी सुविधा आगामी पुस मसान्तसम्म मात्र उपलब्ध हुने भएकाले तोकिएको मापदण्डमा पर्ने करदाताले छिटो सुविधा लिन कार्यालयले अनुरोध गरेको छ।
उक्त छुट योजनाबारे जिल्लाका उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायत निकायलाई जानकारी गराइदिन तथा सहयोग गर्न आग्रह गरिएको छ।
सेवा प्रवाह प्रभावकारी बनाउन अनलाइन प्रणाली,कर भुक्तानी, विवरण दाखिला, कर चुक्ता प्रमाणपत्र तथा विवरण अद्यावधिक लगायतका सेवा अनलाइन मार्फत उपलब्ध हुने कार्यान्वयनमा रहेको कार्यालयका प्रमुख टण्डनले बताए। तुलसीपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा करदाता सहायता कक्ष समेत सञ्चालन गरिएको छ।
राजस्व बुझ्नका लागि ग्लोबल आइएमइ बैंकको काउन्टर कार्यालयमै सञ्चालनमा छ। साथै सेवाग्राहीको गुनासो तथा जानकारीका लागि छुट्टै अधिकारी तोकिएको कार्यालयले जनाएको छ।
करदाता संख्या,लुम्बिनी प्रदेश अन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानमा ४३,०३९ व्यावसायिक स्थायी लेखा नम्बर, १,२४,६९८ व्यक्तिगत लेखा नम्बर ७६६ संस्थागत स्थायी लेखा नम्बरबाट करदाता दर्ता रहेको कर अधिकृत पुनले जानकारी दिए।
जेनजी आन्दोलनका कारण कार्यालयका तीनवटै भवन र सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा अवरुद्ध भएको थियो। हाल कार्यालय श्री त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशाला भाडामा लिएर सेवा प्रवाह गरिरहेको छ।




.gif)





