images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • किसानको समस्या गहुँ छर्ने समयमै युरिया...

किसानको समस्या गहुँ छर्ने समयमै युरिया मल अभाव,

किसानको समस्या गहुँ छर्ने समयमै युरिया मल अभाव,

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौँ । मंसिर ३, कैलाली सुदूरपश्चिममा युरिया मल अभावले किसानको खेतीपाती गम्भीर रूपमा प्रभावित हुँदै गएको छ । घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने सुन्नासाथ हतार–हतार दौडिएर पुग्ने गरेकी छन् । इभरग्रिन कृषि सहकारी संस्थामा अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसे पनि उनको पालो अझै आएको छैन ।

    images
    images

    “जति पटक आएँ पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्किनुपर्छ”, उनले दुःखेसो सुनाइन् ।

    काजल जस्तै घोडाघोडी–३ की सीता चौधरी पनि पटक–पटक लाइन बसेर थाकिसकेकी छन् । धेरै प्रयासपछि बल्ल एक बोरा युरिया हात पार्दासमेत उनी सन्तुष्ट छिन् तर पर्याप्त छैन। एक बिघाभन्दा बढी खेतमा गहुँ लगाउने उनको योजना छ । “तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा मात्रै दियो”, उनले भनिन्, “एक बिघामा त छरिसके, अझै आठ कट्ठा खेत बाँकी छ ।”

    images
    images

    घोडाघोडी नगरपालिका–१ स्थित चुरे कृषक सहकारीमा पनि मल आउने बित्तिकै किसानको भीड लाग्ने गरेको छ । तोकिएको भन्दा बढी मल नपाइने, बिहानैदेखि लामो लाइन बस्नुपर्ने, कहिले–कहीँ मल नआएको भन्दै फर्काइने जस्ता समस्या बारम्बार दोहोरिएका छन् । कतिपय किसानले त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन् ।

    घोडाघोडी–३ का किसान ज्ञानु चौधरी त्यसका एक उदाहरण हुन् । “मलको आस गर्दै बस्दा ढिलो हुने भयो, त्यसैले मलविना नै गहुँ छरिदिएँ”, उनले भने । घोडाघोडी–८ का डम्बर विष्टले पनि यस्तै समस्या भोगे ।

    गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता थपिँदै गएको छ । समयमै मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन् । “ठीक समयमा बीउ नछरिँदा दाना कम लाग्ने, बिरुवा राम्रो नबढ्ने र उत्पादनमा गिरावट आउने सम्भावना उच्च हुन्छ”, उनले जनाए ।

    कैलालीमा गहुँ छर्ने समय अझै करिब एक साता मात्र बाँकी छ । किसानले सुरुवातमै युरिया हाल्नुपर्छ भन्ने गलत बुझाइ राख्ने गरेको धामी बताउँछन् । “युरियामा पाइने नाइट्रोजन डिएपीमै १८ प्रतिशत हुन्छ, सुरुमा डिएपी र पोटास भए पुग्छ”, उनले स्पष्ट पारे ।

    सुदूरपश्चिम प्रदेशका धेरै स्थानीयको जीविकोपार्जन कृषि–निर्भर छ । तर हरेक वर्ष किसानले पर्याप्त रासायनिक मल समयमै नपाउने समस्या झेलिरहेका छन् । यस वर्ष पनि डीएपी पाएका किसानले युरिया अभाव झेलिरहेका छन् ।

    साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएको भए पनि दुवै निकायबाट किसानलाई आवश्यक परिमाणको मल पुग्न सकेको छैन । साल्ट ट्रेडिङ धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवरका अनुसार सुदूरपश्चिममा आएको मलमध्ये ५४ प्रतिशत कैलालीमा, ३४ प्रतिशत कञ्चनपुरमा र बाँकी अन्य जिल्लामा वितरण हुन्छ ।

    युरिया अभावका कारण उत्पादन घट्ने भयले किसान दिनदिनै झन् चिन्तित छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend