रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरू सोमबार परीक्षामा सहभागी भएका छन्। दक्षिण कोरियामा रोजगारीका लागि अनिवार्य गरिएको इपिएस भाषा परीक्षाको पहिलो चरणमा उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरू सोमबारबाट सुरु भएको परीक्षामा सहभागी भएका हुन्। भाषा परीक्षाका लागि ६७ हजारले आवेदन दिएका थिए।यस परीक्षामा उत्तीर्ण भएकाहरूले सन् २०२७ मा कोरिया जान पाउने वैदेशिक रोजगार विभागको इपिएस शाखाका निर्देशक विन्दा आचार्यले जानकारी गराइन्। ‘भाषा परीक्षा उत्तीर्ण गरेपछि उहाँहरूलाई रोस्टरमा राखिन्छ। रोस्टरमा रहेकाहरू रोजगारदाताबाट हुने छनोटका निम्ति योग्य हुनुपर्छ’, उनले भनिन्। उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको पहिलो चरणको परीक्षा सोमबारबाट भइरहेको हो। परीक्षा आगामी माघ २७ मा सक्ने तयारी छ।
कोरियामा डिसेम्बरको अन्त्यतिर क्रिसमस र जनवरीको आरम्भमा नयाँ वर्षको बिदा हुने भएका कारण त्यसबिचको एक हप्ता परीक्षा सञ्चालन नहुने निर्देशक आचार्यले बताइन्। ‘उत्पादन क्षेत्रमा भइरहेको यो परीक्षा माघको अन्तिममा सकिन्छ’, उनले भनिन्, ‘अहिले प्रत्येक दिन आठ सयजनाले परीक्षा दिइरहेका छन्। बिचमा अंग्रेजी नयाँ वर्ष र क्रिसमस परेकाले हप्ता दिन बिदा हुन्छ। त्यसपछि पुन: परीक्षा सुरु हुन्छ।’ उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी एक सय तीन दिन परीक्षा हुने उनले बताइन्।सन् २०२५ मा इपिएसमार्फत कोरिया जानका लागि एक लाख तीन हजारले आवेदन दिएका छन्। तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो। दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा हुने छ। कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार दुई सय १८ जनाले आवेदन दिएका छन्।




.gif)



