images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • दुई महिनादेखि बन्द मौलाकाली केबलकार पुनः...

दुई महिनादेखि बन्द मौलाकाली केबलकार पुनः सञ्चालनको तयारी

दुई महिनादेखि बन्द मौलाकाली केबलकार पुनः सञ्चालनको तयारी

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौँ । मंसिर ०२, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण दुई महिनादेखि बन्द रहेको मौलाकाली केबलकार पुनः सञ्चालनको तयारीमा पुगेको छ। केबलकारको विस्तृत प्राविधिक परीक्षण सफल भएपछि अब केही दिनमै सर्वसाधारणका लागि नियमित सेवा सुरु गर्ने मौलाकाली केबलकार लिमिटेडले जनाएको छ।

    images
    images

    स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ सम्पन्न गरिएको प्राविधिक परीक्षणमा प्रणाली स्थिर र सुरक्षित रहेको पुष्टि भएपछि अन्तिम चरणका केही परीक्षणपछि केबलकार पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने छ। क्षतिग्रस्त उपकरणहरूको परीक्षण तथा मर्मतका लागि अस्ट्रियाबाट प्राविधिक टोली आएर एक सातासम्म निरीक्षण तथा मर्मतकार्य गरेको थियो।

    गत वर्ष वैशाखमा सञ्चालनमा आएको मौलाकाली केबलकारलाई लक्ष्य गरी गैँडाकोट–१ स्थित मौलाकालिका मन्दिरमा दर्शनार्थी तथा पर्यटक आउने क्रम उल्लेख्य थियो। तर जेनजी आन्दोलनका क्रममा तल्लो स्टेशनमा आगजनी र तोडफोड भएपछि केबलकार बन्द हुँदा मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा कमी आएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ।

    images
    images

    केबलकार सञ्चालनमा नआउँदा यस वर्ष दसैँमा समेत भक्तजनको उपस्थिति न्यून रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए। अब पुनः सञ्चालनपछि भक्तजन तथा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

    उच्च धार्मिक तथा प्राकृतिक आकर्षणको स्थल मानिने मौलाकालिका मन्दिरबाट हिउँदमा सूर्योदय, कुहिरोको दृश्य, तनहुँ–गोरखाका पहाड र हिमालको अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट ५६१ मिटर उचाइमा अवस्थित मन्दिर नारायणघाट बजारदेखि करिब पाँच किलोमिटर पश्चिम–उत्तरमा पर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend