काठमाण्डाै । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको २३ दशमलव ८७ प्रतिशत खर्च भएको हो ।चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा चालूगत शीर्षकमा वार्षिक विनियोजनको २७ दशमलव १८ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै पूँजीगत शीर्षकमा वार्षिक विनियोजनको ६ दशमलव २१ प्रतिशत अर्थात् २५ अर्ब ३१ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा ३२ दशमलव ६७ प्रतिशत अर्थात् एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा अहिलेसम्म तीन खर्ब ३३ अर्ब ३४ लाख रुपैयाँ असुली भएको हो ।
सरकारले कात्तिक महिनामा मात्रै एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कात्तिकमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको हो । कात्तिक ३० गते मात्रै ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठाएको सरकारले जनाएको छ ।





.gif)





