पोखरा । गण्डकी प्रदेशका कार्यालय मर्जर र खारेजीपछि ७५ जना कर्मचारीको सरुवा गरिएको छ ।गण्डकीले प्रशासनिक पुनर्संरचनाका लागि सातवटा निर्देशनालय र दुई कार्यालय खारेजीसहित ३२ कार्यालय मर्ज गरेर १७ वटा कायम हुने निर्णय गरेको थियो । यसबाट ३ सय कर्मचारी कटौती हुने मुख्यमन्त्री कार्यालयको भनाइ छ ।
त्यसरी खारेजी र मर्जरमा परेका कार्यालयबाट सिर्जित रिक्त पद र कार्यालयमा लामो समय काम गरिरहेकासमेत ७५ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कात्तिक २४, २८ र ३० गते प्राविधिक र अप्राविधिक विभिन्न तहका कर्मचारीको सरुवा र पदस्थापन गरेको हो ।
प्रदेश निजामती सेवा नियमावलीमा तोकिएको समयभित्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय प्रमुखहरू र अन्तर–मन्त्रालय सरुवा हुने कर्मचारीका बारेमा निर्णय गरिसक्नुपर्ने भए पनि प्रशासनिक पुनर्संरचनाको काम नसकिएकाले दुईपटकसम्म नियमावली संशोधन गरी समय सारिएको थियो ।यसपटक कार्यालय खारेजी र संगठन र व्यवस्थापन सर्वेक्षणपछि कार्यालयमा रहेका सातौँदेखि दशौँ तहसम्मका अधिकृत कर्मचारीहरूलाई सरुवा, पदस्थापन र कामकाजका लागि खटाइएको छ ।




.gif)





