images

२०८३ आश्विन १९ गते

images
images
images

सर्लाहीमा सबैभन्दा धेरै खाद्य उत्पादन

सर्लाहीमा सबैभन्दा धेरै खाद्य उत्पादन

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ।  मधेश प्रदेशमा खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा सर्लाही जिल्लाको रहेको छ। सर्लाहीमा कृषि बाली उत्पादनमा १९.७५ प्रतिशत हिस्सा रहेको मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आ.व.२०८१/८२) मा उल्लेख छ। सबैभन्दा कम रौतहट जिल्लाको हिस्सा ६.३९ प्रतिशत छ।तरकारी तथा बागवानीतर्फ सबैभन्दा बढी महोत्तरीको हिस्सा २२‍.४६ प्रतिशत र सबैभन्दा कम पर्साको हिस्सा ६.३० प्रतिशत छ। फलफूल तथा मसलातर्फ सबैभन्दा बढी सप्तरीको हिस्सा ३१.५१ प्रतिशत र सबैभन्दा कम पर्सा जिल्लाको हिस्सा १.८३ प्रतिशत छ।

    images
    images

    यसैगरी मधेशमा खाद्यान्न उत्पादनमा कमी आएको छ। मधेश प्रदेशमा गहुँ उत्पादनमा २.२८ प्रतिशत, धान उत्पादनमा १०.७० प्रतिशत, उखुको उत्पादनमा १७.४७ प्रतिशत, आलुको उत्पादनमा ३२.९३ प्रतिशत र मकैको उत्पादनमा ३४.८५ प्रतिशतले वृद्धि भएको छ भने सनपाट उत्पादनमा २.६८ प्रतिशत, फापर उत्पादनमा ९.१७ प्रतिशत, दलहन उत्पादनमा १४.४५ प्रतिशत र जौको उत्पादनमा २८.०१ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ। आ.व.२०८०/८१ मा गहुँ उत्पादन २.४२ प्रतिशत, उखुको उत्पादन ३.४१ प्रतिशत, धानको उत्पादन ३.६८ प्रतिशत र मकैको उत्पादन ११.४४ प्रतिशतले कमी आएको थियो।मधेश प्रदेशमा समीक्षा अवधिमा तरकारी तथा बागवानीको उत्पादनमा ९.७९ प्रतिशतले वृद्धि भई १४ लाख ६७ हजार ५ सय ६७ मे. टन उत्पादन भएको अनुमान छ। उत्पादित तरकारीमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा ३ लाख २९ हजार ५ सय ६० मेट्रिक टन उत्पादन भएको छ। त्यो कुल मधेश प्रदेशमा उत्पादित तरकारीको २२.४६ प्रतिशत हो।

    पर्सामा सबैभन्दा कम ९२ हजार ४ सय ८६ मेट्रिक टन अर्थात् कुल मधेश प्रदेशमा उत्पादित तरकारीको ६.३० प्रतिशत उत्पादन भएको अनुमान छ। गत वर्षमा तरकारी तथा बागवानीको उत्पादन ५.१० प्रतिशतले वृद्धि भएको थियो।समीक्षा अवधिमा फलफूल तथा मसलाको उत्पादनमा ९.४३ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो उत्पादनमा २६.९७ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा फलफूलको उत्पादन ९.०७ प्रतिशतले कमी आएको छ भने मसलाको उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ। फलफूलमध्ये केरा र अदुवा उत्पादनमा वृद्धि भएको छ भने आँपको उत्पादनमा कमी आएको छ। मसलामध्ये लसुनको उत्पादन गत वर्षको तुलनामा वृद्धि भएको छ भने प्याज र बेसारको उत्पादनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ।आर्थिक वर्ष २०८१/८२ मा मधेशमा दूधको उत्पादन ३.१६ प्रतिशतले वृद्धि भई ६ लाख ७४ हजार ८ सय ७ लिटर पुगेको छ। यसैगरी अण्डाको उत्पादन ९.६४ प्रतिशतले वृद्धि भई १ लाख १८ हजार ३ सय ४४ गोटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

    images
    images

    ऊनको उत्पादन २७.५८ प्रतिशतले वृद्धि भई १ हजार १ सय १७ केजी र छालाको उत्पादन ०.४३ प्रतिशतले वृद्धि भई ७७ हजार २ सय वर्गमिटर उत्पादन भएको छ। मासुे उत्पादनमा ०.९० प्रतिशतले कमी आई १ लाख ४१ हजार ६ सय ६२ मेट्रिक टन भएको छ।गत वर्षको सोही अवधिमा दूध उत्पादन १.९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार १ सय २३ लिटर, मासु उत्पादन २.४६ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ९ सय ५५ मेट्रिक टन, अण्डा उत्पादन २.८१ प्रतिशतले वृद्धि भई १ लाख ७ हजार ९ शय ४२ गोटा र ऊन उत्पादनमा ३.७९ प्रतिशतले वृद्धि भई ८ सय ७६ केजी उत्पादन भएको अनुमान थियो।छालाको उत्पादनमा १.८७ प्रतिशतले कमी आई ७६ हजार ८ सय ७२ वर्ग मिटर उत्पादन भएको थियो। समीक्षा अवधिमा कुल दूध उत्पादनमध्ये सिरहाको हिस्सा सबैभन्दा बढी २१.१३ प्रतिशत छ भने सप्तरीको हिस्सा सबैभन्दा कम ७.७५ प्रतिशत छ।

    समीक्षा अवधिमा मधेश प्रदेशमा माछाको उत्पादन ५.९५ प्रतिशतले वृद्धि भई ४८ हजार २ सय ८१ मेट्रिक टन पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५.०४ प्रतिशतले वृद्धि भई ४५ हजार ५ सय ७१ मेट्रिक टन पुगेको थियो। सबैभन्दा बढी माछा उत्पादन बारामा भएको देखिन्छ। मधेशमा भएको कुल माछा उत्पादनमा बारामा भएको उत्पादनको हिस्सा सबैभन्दा बढी २२.११ प्रतिशत र पर्सा जिल्लामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम ७.६० प्रतिशत छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend