काठमाडोँ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ (पिपलाडी) यहाँका किसानहरू हाल धान काटिसकेर खेत जोत्नै नपर्ने जिरो टिलेज प्रविधिबाट लसुन रोप्न व्यस्त छन्।
स्थानीय किसान जनकलाल डगौराले एक दशक देखि यो प्रविधि अपनाउँदै आएका छन्। उनका अनुसार, पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्दा उत्पादन कम हुन्थ्यो, तर अहिले धान काटिसकेपछि त्यसकै गाँजमा सिधै लसुन रोप्दा गानो ठूलो र उत्पादन राम्रो हुने गरेको छ।
डगौराले पाँच कट्ठा जमिनमा लसुन रोप्ने गर्छन् । यसबाट वार्षिक करिब रु ९० हजार सम्म आम्दानी हुने गरेको छ। धान काटिसकेपछि चिस्यान भएको खेतमा कुटोको सहायताले लसुनका पोटी रोपिन्छन् । त्यसपछि गोठेमल छर्की परालले छोपिन्छ।
पिपलाडीका अधिकांश किसान अहिले लसुनलाई नगदे बालीका रूपमा आत्मसात् गर्दै आएका छन्। प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा लसुनखेती गर्छन् । एक कट्ठाबाट करिब दुई क्विन्टल उत्पादन हुने र बजारमा प्रतिकिलो रु ३०० देखि रु ५०० सम्म बिक्री हुने गरेको छ। यसरी किसानहरूले प्रतिकट्ठा रु ३० हजार सम्म आम्दानी पाइरहेका छन्।
“पहिले खानकै लागि पनि लसुन किन्नुपर्थ्यो, अहिले बिक्री गर्न बाँकी पर्छ,” किसान चामबहादुर डगौराले भने। उनका अनुसार व्यापारीहरू घरमै आइपुग्छन्। स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजबाट उत्पादन भएको लसुनको माग उच्च रहेको छ।
शुक्लाफाँटा नगरपालिकाका कृषि विकास अधिकृत विनयराज जोशीका अनुसार, जिरो टिलेज प्रविधिले खेत जोत्नुपर्ने झन्झट हटाउने, लागत घटाउने र माटोको उर्वराशक्ति कायम राख्ने फाइदा पुर्याउँछ। यस प्रविधिबाट गरिएको खेती जलवायु अनुकूलनका दृष्टिले पनि प्रभावकारी छ।
जोशीका अनुसार, धान काटेको एक–दुई दिनमै गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसमै लसुन रोपिन्छ । त्यसपछि १० सेन्टिमिटर बाक्लो पराल वा भुसको छापो दिइन्छ, जसले खेतमा चिस्यान कायम राख्ने, झारपात रोक्ने र जैविक पदार्थ थप्ने काम गर्छ। किसानहरूले रोग–कीरा नियन्त्रणका लागि गाईगोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन्।




.gif)





