काठमाडौँ । असोज २१, अविरल वर्षाले कोशी प्रदेशमा ल्याएको बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सम्भावित महामारी तथा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि १४ बुँदे निर्देशन जारी गरेको छ।
मन्त्रालयले प्रदेशका सबै स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र तथा स्थानीय तहहरूलाई परिपत्र गर्दै प्राकृतिक प्रकोप प्रतिकार्य, जोखिम न्यूनीकरण तथा महामारी व्यवस्थापनको तयारीमा जुट्न आह्वान गरेको हो।
असोज १८ र १९ गतेको निरन्तर वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। बाढी र पहिरोका कारण यातायात अवरुद्ध भई उद्धार तथा उपचारमा कठिनाइ सिर्जना भएको छ भने महामारी फैलिने जोखिमसमेत बढेको मन्त्रालयको भनाइ छ।
निर्देशन अनुसार आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने, विशेषतः गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राख्ने, सुरक्षित पिउने पानीको प्रचार–प्रसार गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, र जिल्ला तथा स्थानीय तहमा रहेका वाससँग सम्बन्धित संघसंस्था सँग समन्वयमा काम गर्ने व्यवस्था मिलाउन भनिएको छ।
साथै, गरिएका कार्यहरू तथा प्रगतिबारे समयमै मन्त्रालयमा प्रतिवेदन पेश गर्नसमेत सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।
कोशी प्रदेशमा बाढी र पहिरोले उत्पन्न गर्न सक्ने स्वास्थ्य संकट न्यूनीकरणका लागि मन्त्रालयले स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सरोकारवाला बीच आपसी सहकार्य र तयारीलाई तीव्र बनाउन विशेष आग्रह गरेको छ।





.gif)





