काठमाडौँ । असोज १६, काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गी रोगको संक्रमण अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन सबै नगरवासीसँग आग्रह गरेको छ।
महानगरले नगरका सबै वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र स्थानीयवासीको सक्रिय सहभागिता रहेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिए।
उनका अनुसार, डेङ्गीको संक्रमण दर वर्षेनि घटबढ गर्ने भएकाले नगरवासीको मृत्युदर न्यूनीकरण र नियन्त्रणमा विशेष ध्यान दिइएको छ।
महानगरपालिकाको तथ्याङ्क अनुसार, कामनपामा २०७५ सालमा पहिलो पटक डेङ्गी संक्रमण देखा परेको हो। पछिल्ला वर्षहरूमा संक्रमण दर तलमाथि भइरहे पनि जोखिम कायमै रहेको छ। सन् २०२२ मा २,९७३ जना, सन् २०२३ मा ६४३ जना, सन् २०२४ मा २,०८४ जना र सन् २०२५ को पुसदेखि हालसम्म २४८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
डेङ्गी फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बास बस्ने भएकाले गमला, टायर, पानी जम्मा हुने भाँडा, सडकका खाल्टा लगायत स्थानमा विशेष सतर्कता अपनाउन महानगरले अनुरोध गरेको छ।
साथै, स्वास्थ्य सम्बन्धी गुनासा वा परामर्शका लागि निःशुल्क टेलिफोन सेवा ११८० मार्फत सम्पर्क गर्न महानगरले आम नागरिकलाई आग्रह गरेको छ।




.gif)





