काठमाडौँ । असोज १५, यस वर्षको दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सञ्चालन गरेको सुकिला नोट सटही कार्यक्रममा झण्डै ६ अर्ब रुपैयाँ बराबरको नोट साटिएको छ। राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सटहीका लागि व्यवस्था गरेको थियो।
गएको वर्षको तुलनामा यसपटक सटही रकम केही बढे पनि अघिल्ला वर्षहरूमा साटिएको नयाँ नोटको तुलनामा यो निकै कम हो। २०८० सालमा झण्डै २९ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको थियो। तर, सरकारले नयाँ नोटको साटासाटको सट्टा सुकिला नोट साट्ने नीतिमा गए पछि सटही रकम एकैचोटि चार अर्ब रुपैयाँमा झरेको थियो।
यस वर्ष पनि सोही नीति जारी राखिँदा साटिएको रकम ६ अर्ब रुपैयाँ नाघ्न सकेन। राष्ट्र बैंकका अनुसार सुकिला नोट साट्ने नीति अपनाउँदा नोट छपाइमा खर्च घट्ने भएकाले यो उपाय लागु गरिएको हो।
सुकिला नोट भन्नाले बजारमा पहिल्यै प्रयोगमा आइसकेका तर सफा, बिना च्यातिएको र राम्रो अवस्थामा रहेका नोटहरू लाई जनाइन्छ। जबकि नयाँ नोट भने पहिलोपटक मात्र बजारमा पठाइएका नोटहरूलाई भनिन्छ।
राष्ट्र बैंकले नोट छपाइ गर्दा अब दशैं लक्षित होइन, बजारको माग अनुसार मात्र नोट छपाइ गर्ने बताएको छ। यसले आर्थिक रूपमा पनि व्यावहारिक र किफायती हुने विश्वास गरिएको छ।




.gif)





