काठमाडौँ । असोज १४, यस वर्षको दसैंमा पनि वर्षाले साथ दिएको छ। दसैं सुरु भएदेखि नै देशका विभिन्न स्थानमा पानी परिरहेको छ भने अब दसैंको मुख्य दिनहरू,नवमी र टीकाको दिन, मा समेत उल्लेख्य वर्षाको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मंगलबार बिहान मात्रै मनाङको तालगाउँमा पछिल्लो एक घन्टामा ५.६ मिलिमिटर र बाँकेको भगवानपुरमा ६ मिलिमिटर वर्षा मापन गरिएको हो।
महाशाखाले दिएको जानकारी अनुसार आज (मंगलबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्नेछ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
नवमी र टीकाको दिन झनै वर्षा
महाशाखाले दसैंको नवमी (असोज १५) र टीकाको दिन (असोज १६) पनि देशका विभिन्न भागहरूमा वर्षा हुने प्रक्षेपण गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दसैंपछि तीन मोडलको एकै निष्कर्ष, भीषण वर्षा
मौसमविद् विनोद पोखरेलले दसैंपछि, १ अक्टोबर (नवमी) देखि ७ अक्टोबर (असोज २१) सम्म देशको मध्य र पूर्वी भागमा भीषण वर्षा हुने उच्च सम्भावना देखिएको बताएका छन्। तीन वटा प्रमुख मौसम मोडल युरोपियन सेन्टर फर मिडियम रेञ्ज वेदर फोरकास्ट (ECMWF), आइसिओएन र ग्लोबल फोरकास्ट सिस्टम (GFS) सबैले नेपालमा भारीदेखि अत्यधिक वर्षाको पूर्वानुमान गरेका छन्।
ECMWF अनुसार मधेसमा मुसलधारे पानी पर्नेछ।
ICON मोडलले बागमतीदेखि कोशीसम्मको क्षेत्रलाई प्रभावित गर्ने देखाएको छ।
GFS मोडलले पोखराबाट झापा क्षेत्रसम्म भारी वर्षाको चेतावनी दिएको छ।
विशेष सतर्कता आवश्यक
विनोद पोखरेल भन्छन्, “तीनवटै मोडलहरूले भारी वर्षाको प्रक्षेपण देखाइरहेका छन्। दशैंपछि यात्रा गर्दा वा खेतबारीबाट बाली भित्र्याउँदा विशेष सतर्कता आवश्यक छ।”
मौसमविद्हरूले गत वर्ष असोज १० देखि १३ सम्म परेको भीषण पानी जस्तै अवस्था आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले दशैं पछिका दिनहरूमा सडक यात्रा, नदी कटान, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै आम नागरिकलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।
मनसुन समयमै, तर वर्षा औसतभन्दा कम
यस वर्ष मनसुन सरदरभन्दा १५ दिन छिट्टै प्रवेश गरे पनि अहिलेको अवस्था सम्ममा औसत भन्दा कम वर्षा भएको देखिएको छ। यद्यपि, मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशत रहेको प्रक्षेपण गरेको थियो।
नेपालमा मनसुन याममा वार्षिक औसत वर्षा १४७२ मिलिमिटर हुने अनुमान गरिन्छ।




.gif)





