काठमाडौँ । असोज ३, नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत भइरहेका ठगीका घटना बढ्दै गएको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। बैंकले हालै एक सचेतना मूलक भिडियो सार्वजनिक गर्दै अनलाइन मार्फत पैसा पठाउनु अघि स्पष्ट रूपमा निधो गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
उक्त भिडियोमा दुई जना दाजुभाइ कफी पिइरहेका दृश्य देखिन्छ। यसै क्रममा एक जनालाई साथीको फेसबुक मेसेन्जर मार्फत पैसा आवश्यक भएको भन्दै सन्देश प्राप्त हुन्छ। पैसा पठाउन लाग्दा बैंक खातामा अपरिचित व्यक्तिको नाम देखिए पछि उनी शंका गर्छन् र सँगै रहेका भाइसँग छलफल गर्छन्।
भाइले तुरुन्तै फोन गरेर पुष्टि नगरी पैसा नपठाउन सुझाव दिन्छन्। पछि ती साथीले पनि आफूले पैसा नमागेको जानकारी गराउँछन्। भिडियोको अन्त्यमा भाइले भनेका छन्, हामी सबैले यस्ता घटनाहरू देखेका र सुनेका छौं, तर पनि साथीभाइ वा आफन्तको नाममा पैसा मागिँदा बिना सोचे पैसा पठाउने प्रवृत्ति देखिन्छ। अब देखि निधो नगरी पैसा नपठाऔं।
राष्ट्र बैंकले प्रविधिको विकास सँगै ठगीका घटनाहरू पनि बढिरहेको भन्दै डिजिटल माध्यमको प्रयोग गर्दा सजग र सतर्क हुन सबैमा आग्रह गरेको छ। बैंकले यस्ता घटनाबाट बच्न सार्वजनिक सचेतना अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ।




.gif)





