काठमाडौँ । भदौ २९, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १ अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम नियमानुसार लगानी गर्नु पर्ने भएकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई निवेदन दिन आग्रह गरेको हो।
यसका लागि आवेदन दिने अन्तिम म्याद भदौ ३० गतेसम्म तोकिएको छ।
बैंकले जानकारी दिएको अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकमा रु १ अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख, र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ६ करोड ५० लाख बराबरको रकम मुद्दती निक्षेपको रूपमा लगानी गरिनेछ।
निवेदन दिन चाहने संस्थाहरूले राष्ट्र बैंकद्वारा तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनु पर्नेछ। साथै, निष्क्रिय कर्जा सापटीको अनुपात ८ प्रतिशत भन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत भन्दा कम हुनुपर्ने शर्त पनि तोकिएको छ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर सहितको प्रस्ताव पेश गर्न सूचना मार्फत आग्रह गरेको छ।




.gif)





