काठमाडौँ । भदौ २६, कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मोरङको जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ।
जेन जीको भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा ध्वस्त भएको सो कार्यालयको मर्मत सम्भार र पुनःनिर्माणका लागि बैंकले कदम चालेको हो। यसै सन्दर्भमा, मालपोत कार्यालय विराटनगरका अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ।
बैंकका अनुसार हाल सो कार्यालयमा जलेर नष्ट भएका दस्तावेज तथा विवरणहरूको संकलन कार्य भइरहेको छ र उक्त कार्य सम्पन्न भएपछि पुनःनिर्माण प्रक्रिया अघि बढाइनेछ।
यसका साथै, आन्दोलनको क्रममा पथरीस्थित इलाका प्रहरी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा, कार्यालय सञ्चालनमा सहजता ल्याउन तत्काल आवश्यक कम्प्युटर उपकरणहरू समेत बैंकले उपलब्ध गराएको छ। कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसी प्रसाद अर्याललाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो।
डीएसपी अर्यालले बैंकले संकटको घडीमा देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै, “कार्यालय सञ्चालनमा गम्भीर चुनौती रहेको अवस्थामा प्राप्त सहयोग अत्यन्तै प्रभावकारी र सहायक सिद्ध भएको छ,” भन्नुभयो।
सो अवसरमा बैंकका कर्मचारी तथा प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानका वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी चौकीहरूमा पुनःनिर्माण तथा मर्मत सम्भारका कार्यहरूमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ।




.gif)





