images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • मुस्ताङमा हाइब्रिड स्याउको उत्पादन १० प्रतिशतले...

मुस्ताङमा हाइब्रिड स्याउको उत्पादन १० प्रतिशतले वृद्धि, स्थानीय जातमा भने गिरावट

मुस्ताङमा हाइब्रिड स्याउको उत्पादन १० प्रतिशतले वृद्धि, स्थानीय जातमा भने गिरावट

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, मुस्ताङ जिल्लामा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ गाला र किङरट जातका स्याउको उत्पादन यस वर्ष करिब १० प्रतिशतले वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, बगैँचाको प्रारम्भिक सर्वेक्षणमा उत्पादनमा सकारात्मक वृद्धि देखिएको छ।

    images
    images

    गत वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन हाइब्रिड स्याउ उत्पादन भएकोमा यस वर्ष एक सय २५ मेट्रिक टनले वृद्धि भई कुल उत्पादन एक हजार ३७५ मेट्रिक टन पुगेको केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो।

    जिल्लास्तरीय समन्वयात्मक बैठकको निर्णय अनुसार गाला स्याउ भदौ ५ गतेदेखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर निकासी थालिएको छ। मुस्ताङका बगैँचाबाट पोखरा, काठमाडौँ लगायत स्थानमा स्याउ ढुवानी भइसकेको छ।

    images
    images

    तर, स्थानीय जातका स्याउको उत्पादनमा भने गिरावट आएको देखिएको छ। कृषि ज्ञान केन्द्रको प्रक्षेपण अनुसार, स्थानीय जातको उत्पादन यस वर्ष १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। गत वर्ष ८३० हेक्टरमा लगाइएको स्थानीय स्याउबाट ६ हजार ७८.८४ मेट्रिक टन उत्पादन भएको थियो, भने यस वर्ष ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरिएको छ।

    थासाङ–१ टुकुचेका कृषक दिपसागर थकालीका अनुसार, थासाङ क्षेत्रमा उत्पादन एक तिहाइले घटेको छ। गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमै थोरै स्याउ फलेको छ, उहाँले भन्नुभयो।

    तर, सबै क्षेत्रमा स्थिति उस्तै छैन। घरपझोङ–५ स्थित चिम्ले अचार्ड फार्ममा उत्पादनमा असर नपरेको सञ्चालक कर्म गुरुङले बताए। “बगैँचाको व्यवस्थापन, भूगोल र स्थानको आधारमा उत्पादनमा फरक पर्छ,” उहाँले स्पष्ट पार्नुभयो।

    शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार, बोटमा फूल फुल्दै गर्दा परेको वर्षाका कारण उत्पादन घटेको हो। यद्यपि जिल्लाभर कति स्याउ उत्पादन भयो भन्ने एकिन तथ्याङ्क असोजपछि मात्र थाहा हुने उनले बताए।

    कृषि ज्ञान केन्द्रका अनुसार, गत वर्ष मुस्ताङमा स्थानीय र हाइब्रिड स्याउ गरी ६,०१६ हेक्टरमा ७,३२८ मेट्रिक टन उत्पादन भएको थियो। जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको र ९० प्रतिशत बाहिर निकासी भएको थियो। स्याउ व्यापारबाट रु ८२ करोड ६८ लाख बराबरको कारोबार भएको र जिल्लामा मात्र रु ९ करोड १८ लाख ६७ हजारको स्याउ खपत भएको केन्द्रले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend