काठमाडौँ । एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र अविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए ।
२०८१ जेठ २८ मा उनीहरुविरुद्ध सर्वोच्चले कैद र जरिवाना हुने फैसला गरेको थियो । सुरेन्द्रकुमार प्रधानविरुद्ध ९ करोड २१ लाख ५० हजार बिगो र जरिवाना हुने फैसला गरेको छ । उनलाई ७ वर्ष कैद तोकिएको छ ।
अविन्द्र श्रेष्ठलाई अदालतले ३ वर्ष कैद र २ करोड ५० लाख बिगो तथा जरिवाना असुल हुने फैसला गरेको छ । एचएण्डबी डेभलपमेन्ट बैंकको घोटालाबारे २०७१ मा जिल्ला अदालतले सुरु फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध प्रतिवादीहरू उच्च र सर्वोच्च अदालतमा गएका थिए । दुवै प्रतिवादीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।




.gif)





