बागलुङ, ढोरपाटन । केही वर्ष अघि सम्म काम विहीन बनेका घोडा र खच्चड ढोरपाटनमा अहिले पुनः आम्दानीको स्रोत बन्न थालेका छन्। सडक विस्तार सँगै ओझेलमा परेको घोडा व्यवसाय पछिल्लो समय पर्यटन बढे सँगै फस्टाउन थालेको हो।
एउटा समय थियो जब ढोरपाटनका अधिकांश बासिन्दाले घोडा खच्चडको प्रयोग सामान ढुवानी तथा यात्रा आवागमनका लागि गर्थे। तर सडक विस्तार भएसँगै मोटरबाटो पुगेपछि यो व्यवसाय धराशायी जस्तै बनेको थियो। धेरैले घोडा खच्चड पाल्न छाडे भने केही किसानले बेच्न नपाएको गुनासो पनि गर्दै आएका थिए।
तर, पछिल्ला वर्षहरूमा ढोरपाटनमा पर्यटकको आकर्षण बढेसँगै घोडा चढ्ने, फोटो र भिडियो खिच्ने चाहना बढ्न थालेको छ। यसले गर्दा पहिले बेकार ठानिएका घोडा अहिले रोजगारी र आम्दानीको मुख्य स्रोत बन्न थालेका छन्।
ढोरपाटन नगरपालिका–९ का घोडा व्यवसायी खिमबहादुर विक भन्छन्, अहिले घोडा चढाएर पर्यटकलाई बुकीपाटन सम्म लैजाँदा ४ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ। चौरमा फोटो–भिडियो खिच्न रु ५० देखि १५० लिने गरिन्छ।
व्यवसायी धनराम विकका अनुसार पहिले खाद्यान्न तथा कृषि उपज बोक्न प्रयोग हुने घोडा अहिले पर्यटक ओसार्ने प्रमुख माध्यम बनेका छन्। यद्यपि गाडीले धेरै स्थानमा सामान पु¥याए पनि अझै टाढाटाढाका ठाउँमा घोडाकै भर पर्नु पर्ने उनी बताउँछन्।
पहिले एउटै किसानले दुई दर्जन सम्म घोडा पाल्ने गरे पनि अहिले कम मात्रामा पालिने गरेको देखिन्छ। तर, पर्यटकको संख्यामा भएको वृद्धिले व्यवसाय फेरि जीवन्त भएको छ।
तर, पर्यटकबाट मनपरी शुल्क लिने प्रवृत्तिले आलोचना पनि खेप्न परेको छ। ढोरपाटन घुम्न आएका कुलदीप तामाङले सुरुमा रु १०० भने पनि पछि फोटो खिचाएबापत रु ३०० लिएको गुनासो गरे। यस्ता व्यवसायीलाई नियमन गर्न जरुरी छ, तामाङले भने।
ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा १५ हजार ५७३ पर्यटक पुगेका थिए भने २०८१।८२ मा त्यो संख्या झण्डै ८ हजारले बढेर २३ हजार ६९२ पुगेको छ। बर्खामा वनफूल हेर्न र जाडोमा हिउँ खेल्न आउने पर्यटकले स्थानीय घोडा व्यवसायमा नयाँ गति दिएको देखिन्छ।




.gif)





