सुनसरी । भदौ १७, सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्न थालेपछि बाढीको जोखिम न्यूनीकरण गर्न कोसी ब्यारेजका ५६ ढोका मध्ये ३८ वटा ढोका खोलिएको छ। पहाडी भेगमा लगातार वर्षा भएकाले नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार सोमबार राति १०ः०० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड २,७३,९२५ क्युसेक पुगेको छ। दिउँसो ४ः०० बजे यो प्रवाह २,५६,०१० क्युसेक रहेको र त्यसबेला ३४ ढोका खोलिएको जानकारी दिइएको थियो।
डीएसपी खतिवडाले भने, ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको सङ्केत स्वरूप जनाइन्छ। रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन सङ्केत गर्दछ।
हाल डुबानको प्रत्यक्ष जोखिम भने नरहेको जनाइएको छ। तर पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ। यसै कारण, स्थानीय प्रशासन तथा सुरक्षा निकायले सप्तकोसी आसपासका बासिन्दा तथा सरोकारवालाहरूलाई सतर्क रहन, जोखिमपूर्ण क्षेत्रतर्फ नजान र आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।




.gif)





