काठमाडौँ ।क्यानडाको वार्षिक मुद्रास्फीति दर जुलाई महिनामा घटेर १.७ प्रतिशतमा पुगेको छ । यो गिरावट मुख्यतः पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण भएको बताइएको छ ।स्ट्याटिस्टिक्स क्यानडाका अनुसार,“इरान र इजरायलबीचको युद्धविरामपछि कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस घटनाले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम कम भएको संकेत दिएको छ ।”
जुन महिनामा मुद्रास्फीति दर १.९ प्रतिशत थियो । त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण केही वस्तु, विशेषतः सवारी साधनहरूको मूल्यमा वृद्धि देखिएको थियो ।राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतसँगै क्यानडामाथि भन्सार शुल्क लगाउन थालेपछि केही विश्लेषकहरूले मुद्रास्फीति दर उच्च हुने सम्भावनाको बारेमा चिन्ता व्यक्त गर्नुभएका थिए । उहाँहरूले केन्द्रीय बैंक ब्याजदर पुनः बढाउन बाध्य हुन सक्ने चेतावनीसमेत दिनुभएका थिए ।
तर जुलाई महिनाको तथ्यांकल ती भन्सार शुल्कहरूको प्रभाव धेरै वस्तुहरूमा अपेक्षाकृत न्यून देखाएको छ ।डेजार्डिन्स संस्थाका विश्लेषक रोयस मेंडेसका अनुसार, “पछिल्ला मुद्रास्फीति दरले हाम्रो अनुमानलाई पुष्टि गर्छ, जसअनुसार धेरै भन्सार–सम्बन्धित मूल्य वृद्धिहरू मार्च र अप्रिल महिनामै भइसकेका थिए ।”उहाँले थप स्पष्ट पार्नुभयो, “हालका मूल्य प्रवृत्तिहरूले देखाउँछन् कि ती वस्तुहरूको मूल्य वृद्धिदर अहिले सामान्य अवस्थामा फर्कँदै गएको छ ।”
मुद्रास्फीति दर सुरक्षित दायरामा रहेकोले, क्यानडाको केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनामा ब्याजदरमा पुनः कटौती गर्ने सम्भावना रहेको मेंडेसको भनाइ छ । बैंकले पछिल्ला तीन बैठकमा ब्याजदर अपरिवर्तित राख्दै आएको थियो ।प्रधानमन्त्री मार्क कार्नीले यसअघि अगस्त महिनाको सुरुआतमा जानकारी गराउँदै क्यानडा–अमेरिका बीचको करिब ८५ प्रतिशत व्यापार अहिले पनि दुई देशबीच शुल्करहित रूपमा सञ्चालन भइरहेको भन्नुभएको थियो । ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत रहेका वस्तुहरूमा कर छुट कायम राखेको छ ।
यद्यपि, यदि सो सम्झौतालाई अमेरिकी प्रशासनले पूर्ण रूपमा खारेज ग¥यो वा आगामी वर्ष पुनरावलोकनका क्रममा ठूला संशोधनहरू गरियो भने, क्यानडाको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने विश्लेषकहरूको धारणा छ ।




.gif)





